सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली, २१ माघ । कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब तीनभित्र सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले राससलाई जानकारी दिए । उनले भने, “अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ ।” सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा सोधिएका प्रश्नको जवाफ पनि दिने उनले बताए । कर्णालीमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका छ र समाजवादीका तीन प्रदेशसभा सदस्य छन् । जसमा माओवादीले चार, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले तीन मन्त्री पाउनुपर्ने प्रस्ताव राख्दै आएका थिए । सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्दछ । सरकारमा गठबन्धन दलभित्र कसको कति मन्त्री हुने भन्ने कुराको जानकारी पनि त्यही दिन सार्वजनिक गर्ने बताउँदै मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलभित्रको लामो गृहकार्यपछि कर्णाली सरकार आफ्नो लयमा अघि बढ्ने जनाए ।
'कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटना'
कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन् । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए । “संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको कल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,” उनले भने, “यसको ध्येय अनुसार जनप्रतिनिधिहरुको संस्था प्रदेशसभा र सरकारले अति क्रियाशील भएर काम गर्न आवश्यक छ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले कर्णालीको विकास र समृद्धि अझै बलियो र सुदृढ बन्दै जाने अपेक्षा रहेको बताउँदै प्रदेश प्रमुख परियारले ऐतिहासिक महत्वको बोकेको दिनको स्वर्णीम सपनालाई विपनामा परिणत गर्न सबैको साझा दायित्व रहेको बताए । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनदेखि नीति निर्माण गर्ने जनप्रतिनिधिहरुको संस्था प्रदेशसभाको चार वर्षको भूमिका कदर गर्न लायक भएको बताए । उक्त कार्यक्रममा सभामुख राजबहादुर शाहीले प्रदेशसभाको चार वर्षे कार्यकालले प्रादेशिक संरचनाको आकार दिएको बताए । उनले भने, “हामीले यो चार वर्षमा सरकार, समीति, नीति, बजेट तथा कार्यक्रम निर्माणदेखि ३६ वटा कानून बनाएका छौ । सरकारको कामको प्रभावकारिताको निगरानी गर्दैै आएका छौं ।” कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।