सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १६ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । सहिद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले सहिदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराए । प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदहरूलाई जाने उल्लेख गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सहिदको योगदानको उच्च मूल्याङ्कन गर्दै सहिद परिवारजनमा सम्मान व्यक्त गर्नुभएको छ । सहिदहरूको बलिदानी सबै नेपाली जनतालाई अधिकार सम्पन्न, सुखी, खुसी र समृद्ध बनाउँदै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि थिए भन्दै उहाँले सहिदहरूको बलिदानीबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता उपलब्धिहरूलाई संस्थागत गरेको संविधानको संरक्षण र पूर्ण पालन गर्नु सबैको दायित्व भएको स्मरण गराएका छन् ।
अध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले एक सन्देश जारी गर्दै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने सहिद श्ुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ ।–रासस