आइतबारका लागि बोलाइएको संसद्‍ बैठक स्थगित

शनिबार, माघ १५, २०७८

काठमाडौं, १५ माघ : माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, 'कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

सभामुखले भोलिका लागि बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेकाे जानकारी  दिएका थिए ।सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको जानकारी दिएका थिए । 
सङ्घीय संसद्को बैठक आइतबार १ बजेका लागि बोलाइएको थियाे । बैठकको सम्भावित कार्यसूचीमा सहिद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८’ पेश गर्नुहुने छ । यस्तै सभामुख सापकोटाले विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार