सत्ता गठबन्धनको निष्कर्ष : स्थानीय तहको चुनाव जेठभित्र

शनिबार, माघ १५, २०७८

काठमाडौं, १५ माघ : स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताए । 
बैठकले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको हो । बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए त्यो तयारीका लागि समेत सरकारलाई सुझाव दिएको उनले बताए । मन्त्री कार्कीले भने, “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तय गर्छ ।”
विसं २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । त्यसलाई समेत मध्यनजर गरी संविधानसँग बाझिएका कानुन मिलाएर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने उनले बताए । 
देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन लोकतान्त्रिक मूल्यअनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिबद्ध रहेको उनको भनाइ छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जानमोर्चाका शीर्षनेता सहभागी थिए । 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार