स्थानीय तहको निर्वाचनबारे कस्तो निर्णय गर्ला कांग्रेसले ?

शुक्रबार, माघ १४, २०७८

काठमाडौँ, १४ माघ । केन्द्रीय कार्यसम्पादन समिति गठन तथा स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अहिले बस्दै छ । स्थानीय तहको निर्वाचनका विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला बस्न लागेको यो बैठकका बारेमा चासो बढ्दो छ । बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । गत मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समितिको बैठक यसअघि दुईपटक सम्पन्न भइसकेको छ भने कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण तेस्रो बैठक भर्चुअल माध्यमबाट हुन लागेको हो । पार्टीको १४औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरिसकेका छन् । कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, पदेन सदस्य हुने व्यवस्था छ । त्यस्तै सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्ने छ । उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्ने विधानको व्यवस्था छ । संसदीय दलको नेता र केन्द्रीय प्रवक्ता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन । केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक बस्नेछ । कांग्रेसमा हाल सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय बन्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार