प्रदेशसभा स्थापना दिवस मनाइँदै 

बिहीबार, माघ १३, २०७८

कर्णाली, १३ माघ । कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले माघ २१ गते प्रदेशसभा दिवसका रूपमा मनाउन साताव्यापी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।  प्रदेशसभा सचिवालयका अनुसार चौथो स्थापना दिवसको अवसरमा प्रदेशसभा परिसर सरसफाइ गर्ने, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न क्षेत्रका युवाको भौतिक र भर्चुअल उपस्थितिमा अन्तक्र्रिया गर्ने, युवा विद्यार्थीलाई प्रदेशसभाको अवलोकन गराउने, वृत्तचित्र प्रदर्शनी गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । त्यस्तै १० जना विद्यार्थीको सहभागितामा ‘म प्रदेशसभा सदस्य भएँ भने...’ शीर्षकमा वतृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । 
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन माघ २१ गते दिउँसो जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी औपचारिक समारोह आयोजना गरिने बताउनुभयो । समारोहमा कर्णालीका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत प्रदेशका उच्चपदस्थ अधिकारीलाई आमन्त्रण गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।  सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद् खुला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय गरिएको छ । “अबदेखि कर्णाली प्रदेशसभाभित्र के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन्”, उनले भने, “सभाभित्रका सबै कुराको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ ।”  संसद् खुला हुनुपर्छ भनिए पनि अहिलेसम्म व्यवहारमा लागू नभएका कारण यहाँका भौतिक संरचना तथा सदन हेर्नका लागि खुला गरिने अभ्यासमा लागेको उनले बताए । खुला संसद्को अभ्यासमा लागेको सातवटै प्रदेशमध्ये कर्णाली पहिलो हो । 
“संसद्भित्र बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइनेछ”, उनले भने, “संसद् खुला हुनुपर्छ र संसद्भित्रका गतिविधि नागरिकले पनि जान्न पाउनुपर्छ भनेर यो अभ्यासमा लागेका हौँ ।” बेलायतलगायतका देशमा संसद्को वरिपरि पर्खाल पनि नलाएर नागरिकका लागि खुला राख्ने अभ्यास भएको हुँदा खुलापनको अभ्यास गर्न जरुरी रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक सम्पन्न 

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित परिषद्को पाँचौँ बैठकको प्रारम्भमा यसअघिका निर्णयको पुनरावलोकन गरिएको थियो । तत्तपश्चात् विकास आयोजनाको कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए । 
यसैगरी कोभिड–१९ को रोकथाम तथा प्रतिकार्यको तयारी, समन्वय र सहकार्य, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुँदै आएको विकास आयोजना, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा साझा अधिकारका विषयमा छलफल भएको प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार परिषद्को सम्पन्न बैठकबाट भएका निर्णय भोलि सार्वजनिक गरिनेछ ।
बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, कर्णालीका १० जिल्लाका समन्वय प्रमुख, ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख अध्यक्ष÷उपाध्यक्ष, प्रदेश सरकारका सचिवलगायतको सहभागिता रहेको थियो । –रासस

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार