राष्ट्रियसभा सदस्यका लागि हेटौंडामा मतदान जारी, आजै बेलुका परिणाम आउने 

बुधबार, माघ १२, २०७८

मकवानपुर, १२ माघ । राष्ट्रिय सभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान १० बजेबाट सुरू भएकाे हाे ।  मतदान दिउँसो ३ बजे सकिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेपछि मतगणना सुरू गरी बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिनेछ ।  राष्ट्रिय सभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किसान पार्टीका दुई जनाबीचबाट दुई जना चयन हुनेछन् । गठबन्धनले महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो । प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यकाबीच चुनाव भएको हो । यस्तै, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।  चुनावमा प्रदेशसभाका एक सय नाै जना सांसद, प्रदेशका एक सय १९ स्थानीय तहका प्रमुख एवं उपप्रमुख गरी तीन सय ४६ जनाले मतदान गर्दैछन् । 

मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यी दुई फरक फरक मतदान केन्द्रमा मतदान गरिरहेका छन् । मतदानका बेलामा फोटो खिचिएको विषयमा सुरुमा विवाद समेत भएको थियो । माओवादी केन्द्र दोलखाबाट प्रतिनिधित्व गरेकी प्रदेशसभा सांसद हिमाली गोलेले भोट हालेको फोटो खिचेपछि मतदानस्थलमा विवाद भएकाे थियो । गोलेले भोट हालेर फोटो खिच्ने क्रममा प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले रोकेपछि दुवै जनाबीचमा भनाभन भएको हो । यस्तै, आफ्नो पार्टीका तर्फबाट चुनावमा उम्मेदवार नभएकाले चुनावमा भोट पनि नहाल्ने बताएको राप्रपाले मतदान गरेको पाइएको छ । सो पार्टीले प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताए पनि बागमती प्रदेशसभा सांसद रिना गुरुङ र रिता माझीले मतदान गरेका छन् । 

प्रजिअ र प्रहरीप्रमुख नै खटिए सुरक्षामा
हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरीप्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गरुङ खटिएका छन् । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ ।
मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ । मतदानस्थल, मतदान केन्द्रबाहिर र मतदान आसपासको १०० मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ३०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीप्रमुख गुरुङले बताए।
प्रहरीप्रमुख गुरुङको नेतृत्वमा जनपद तथा ट्राफिक प्रहरीसमेत १८० र सशस्त्र प्रहरी १४ नं गण हेटौँडाका प्रहरी उपरीक्षक  नेतृत्वमा ६० सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ पाण्डेले जानकारी दिए।  
प्रदेशसभा सदस्य र जनप्रतिनिधिलाई मतदानका लागि छुट्टै केन्द्र तथा मतपत्रको व्यवस्था गरिएको छ । समाचार सङ्कलनमा रहेका सञ्चारकर्मीलाई आलोपालो गरेर प्रवेश गर्न दिइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार