गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

मंगलबार, माघ ११, २०७८

कास्की, ११ माघ । बुधबारका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार मतदानका लागि कर्मचारी व्यवस्थापन, सुरक्षा प्रबन्ध, मतपत्र र मतदान केन्द्र व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा भएको छ । रत्नचोकस्थित  प्रदेश निर्वाचन कार्यालय परिसरमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । कार्यालयप्रमुख एवं प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले मतदान सकिएपछि मतगणना सुरु हुने र भोलि नै नतिजा सार्वजनिक गरिने बताए । उनले भने, “मतदानका लागि आवश्यक सम्पूर्ण तयारीको काम सकिएको छ । मतदान सम्पन्न भएपछि गणना सुरु गरेर भोलि नै अन्तिम परिणाम घोषणा गर्नेछौँ ।”
मतदानमा कार्यालयका कर्मचारीबाहेक २० जना कर्मचारी परिचालित हुने बताइन्छ । त्यसैगरी सुरक्षाका लागि ५० जना जनशक्ति परिचालित हुनेछ । मतदानका लागि प्रदेशसभा र स्थानीय तहको गरी दुई मतदान केन्द्र तोकिएको छ । यसैगरी कोरोना सङ्क्रमित मतदाताका लागि छुट्टै बुथको व्यवस्था गरी मतदानको प्रबन्ध मिलाइएको निर्वाचन अधिकृत पराजुलीले बताए ।
राष्ट्रियसभा निर्वाचनमा गण्डकीका तीन सिटका लागि सत्ता गठबन्धनबाट तीन र प्रतिपक्ष दल नेकपा एमालेबाट तीन गरी छ जना उम्मेदवार छन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रका सुरेश आलेमगर, महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त र दलिततर्फ माओवादी केन्द्रका भुवन सुनार उम्मेदवार रहेका छन् ।
नेकपा एमालेले अन्यतर्फ पुण्यप्रसाद पौडेल, दलिततर्फ अर्जुनकुमार सुनाम र महिलातर्फ लीला पोखरेल (थनेत) लाई उम्मेदवार बनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार गण्डकीमा प्रदेशसभाका ५९ र ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० जना गरी कूल २२९ मतदाता रहेका छन् । 

बागमती प्रदेशको पनि तयारी पूरा

बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । भोलि बुधबार हेटौँडाको औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।
 राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमल्सिनालाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीले कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई उम्मेदवार बनाएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग मतदान केन्द्र कायम गरिएको र मतदान केन्द्रमा अधिकृतसहित १६ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग रङको मतपत्र उपलब्ध हुनेछ ।
मतदान प्रक्रियामा बागमती प्रदेशका १०९ जना प्रदेशसभा सदस्यसहित प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख एवं उपप्रमुख २३७ जना गरी कूल ३४८ जनाले मतदाताका रूपमा सहभागी हुन पाउनेछन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र भोलि नै नतिजा आउन सक्ने जनाइएको छ ।
मतदानस्थलमा चिकित्सकसहितको स्वास्थ्य परीक्षण स्थल सञ्चालन हुनेछ भने कोरोना परीक्षणको पनि व्यवस्था गरिएको छ । साथै खोप नलगाएका मतदाताका लागि खोप लगाउन खोप केन्द्र पनि सञ्चालन हुनेछ । कोरोना महामारीका कारण विशेष सावधानी अपनाइने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानस्थल प्रवेशका लागि कोरोना खोप कार्ड अनिवार्य गरिएको छ । “मतदातामध्ये कोही कोरोना सङ्क्रमित भए वा कोरोनाको लक्षण देखिए अलग्गै राखेर मतदान गर्ने गरी व्यवस्था गरिएको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार