एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

९५ सदस्यीय कमिटीका लागि १३० जनाको उम्मेदवारी
सोमबार, पुस २६, २०७८

लमजुङ, २५ पुस : नेकपा एमाले लमजुङको ८औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन । 

सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष पदका लागि दुई जना, सचिव पदमा दुई जना र उपसचिवमा सात जनाको उम्मेदवारी परेको छ । 

पाँच जना पदाधिकारीमा एक जनामात्रै महिलाको उम्मेदवारी परेको छ । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई जना गरी पाँच जना रहेकोमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीमा दर्ता गरिएका १२ जना मध्ये अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् भने एक जनामात्रै महिला उम्मेदवार छन् ।

उपाध्यक्ष पदका लागि अखिल नेपाल महिला संघ (अनेमसंघ)की जिल्ला अध्यक्ष यशोदा रिमालले उम्मेदवारी दर्ता गराएकी हुन् । उपाध्यक्ष बाहेक अरू कुनै पनि पदमा महिलाले उम्मेदवारी दिएका छैनन् । उपसचिवमा सात जनाले उम्मेदवारी दिएकोमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन ।

उपाध्यक्षमा बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष एवं युवा संघका केन्द्रीय सचिव गोविन्द बस्नेतले पनि उम्मेदवारी दिएका छन् । सचिवमा सुभाष पौडेल र राजेन्द्र बोहराले उम्मेदवारी दिएका छन् । उपसचिवमा कृष्ण केसी, रामचन्द्र भट्ट, जितबहादुर गुरुङ, हिरालाल विक, जनकराज मिश्र, विवश बुढाथोकी र जीवराज घलेको उम्मेदवारी दर्ता भएको नेकपा एमाले लमजुङ ८औं अधिवेशन निर्वाचन कमिटीले जनाएको छ ।

नेकपा एमाले लमजुङको ९५ सदस्यीय कमिटीका लागि १३० जनाको उम्मेदवारी

नेकपा एमाले लमजुङको ९५ सदस्यीय  जिल्ला कमिटीका लागि १ सय ३० जनाको उम्मेदवारी परेको छ ।  कमिटीमा समावेशीतर्फ, दलितफर्त , खुलातर्फ र पालिका भूगोल, गरी १ सय ३० जनाको उमेदवारी परेको एमालेको ८ औं जिल्ला अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । कमिटीका संयोजक बुद्धिसागर बरालका अनुसार ८ वटा स्थानीय तहबाट ६४ जनाका लागि ८३ जनाको उम्मेदवारी परेको छ ।

 जिल्ला कमिटीको अध्यक्ष १ जनाका लागि १ जना, उपाध्यक्ष १ जनाका लागि २ जना, सचिव १ जनाका लागि २ जना, उपसचिवमा २ जनाका लागि ७ जनाको उमेदवारी परेको छ । पालिका भूगोलबाट सदस्यमा दोर्दी गाउँपालिका, क्व्होलासोंथर गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट २२ जनाका लागि २२ जनाकै उमेदवारी परेको छ । क्व्होलासोंथर गाउँपालिकाबाट ८ जनाका लाग ८ जना, दोर्दी गाउँपालिकाबाट ८ जनाका लागि ८ जना र दूधपोखरी गाउँपालिकाबाट ६ जनाका लागि ६ जनाकै उमेदवारी परेको हो ।

यस्तै सदस्यमा भूगोलतर्फ बेंसीशहर नगरपालिकामा ९ जनाका लागि १२ जनाको उमेदवारी परेको छ । सुन्दरबजार नगरपालिकामा ९ जनाका लागि १८ जना, मध्यनेपाल नगरपालिकामा ८ जनाका लागि ११ जना, राइनास नगरपालिकामा ८ जनाका लागि १० जनाको उमेदवारी परेको छ ।  मर्स्याङदी गाउँपालिकामा ८ जनाका लागि ९ जनाको उमेदवारी दर्ता भएको छ । समावेशीतर्फ ३ जनाका लागि ४ जना, दलिततर्फ ८ जनाका लागि ११ जनाको उमेदवारी परेको छ । खुलातर्फ १५ जनाका लागि २१ जनाको उमेदवारी परेको निर्वाचन कमिटीका संयोजक बुद्धिसागर बरालले बताए । 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार