सोसल मिडिया
Contact Us
युनिकोड
उदयपुर, २३ पुस : नेपाल कम्युनिष्ट पाटी (एमाले) उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबी गर्दै चार जनाले उम्मेदवारी घोषणा गरेको छ । गुटबन्दी अन्त्य गर्नका लागि सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पार्टी नेतृत्व लागेको भए पनि आकांक्षीहरु बढ्दै जाँदा व्यवस्थापनमा समस्या देखिन थालेको छ । अधिवेशन सुरु नहुँदै आधा दर्जन बढीले अध्यक्षको दाबी गरेको पाइएको छ । अधिवेशन हुनु भन्दा महिनादिन अघिदेखि नै नेताहरुले नेतृत्व दाबी गरिरहेका थिए ।
कोही सर्बसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनाबी प्रतिस्पर्धा गरेरै भए पनि नेतृत्वमा पुग्ने होडमा छन् ।
केहीले समूह बनाएर उम्मेदवारी घोषणा गरि सकेको हुँदा समग्र परिस्थितिले एमाले उदयपुरमा सर्बसम्मत नेतृत्व चयनको सम्भावना कमै रहेको नेता कार्यकर्ताहरु बताउँदै आएका छन् ।
अघिवेशन सुरु हुन अघि नै ४ जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान सचिव प्रमेश्वर घिमिरे र सचिवालय सदस्य कुशलबाबु बस्नेतले प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् भने अर्का सचिवालय सदस्य कालु लामाले टेकबहादुर राउतलाई सचिव बनाएर अध्यक्ष उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले आफ्नो उम्मेदावारी घोषणा गरि सकेका छन् । अन्य आकांक्षीहरुमा अध्यक्ष ईश्वरमणि राउत, उपाध्यक्ष बिमल कार्की, दुर्गाकुमार थापा, गोपाल खत्री रहेका छन् ।
राउत, थापा र खत्री सर्बसम्मत पाए मात्र अध्यक्ष बन्ने बताइरहेका छन् । कार्की सर्बसम्मत वा चुनाव कुनै पक्षमा नदेखिए पनि अध्यक्ष हुने वातावरण आफ्नो भागमा पार्ने गरी ‘रिजर्भ’ रहेको उनी निकट कार्यकर्ताहरु बताउँछन् । परियारले पार्टीलाई दलित अधिकारको पैरवी अभियानसँगै ३० वर्षदेखि अनवरत योगदान गरेकोले आफूलाई अध्यक्षको सबल दाबेदार रहेको बताउँछन् ।
अहिलेसम्म आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा देखिएका छैनन् ।
बेलका नगर प्रमुख समेत रहेका र केपी शर्मा ओली पक्षधर दुर्गाकुमार थापा चुनाब नलड्ने तर, अध्यक्षको कुर्सी आफ्नो पक्षमा पार्ने दाउमा लागेका छन् । थापा, लामा, परियार, बस्नेत र भागवत राउत सुरुवाती समयदेखि ओली पक्षधर हुन् । चुनाबी प्रतिस्पर्धा जानका लागि कालुमान लामा, प्रमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियारले आफनो उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।
नेकपा एमाले खोटाङको बन्दसत्र सुरु
नेकपा एमाले खोटाङको बन्दसत्र सुरु भएको छ । दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा जारी सातौं जिल्ला अधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको हो । बन्दसत्र एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।
शुक्रबार बेलुका ७ बजेपछि सुरु भएको बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक र विकास तथा समृद्धि प्रतिवेदन प्रस्तुत भइरहेको छ । प्रस्तुत प्रतिवेदन छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको चरणमा बन्दसत्र पुग्ने छ ।
‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्र गतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारा सहित सुरु भएको अधिवेशनमा आकांक्षी धेरै देखिए पनि सर्वसहमतिमा एमालेको नेतृत्व चयन हुने एमालेले जनाएको छ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने छ । बन्दसत्रका लागि प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा आठ सदस्यीय अध्यक्ष मण्डल र नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
अधिवेशन उद्घाटन–सत्रमा प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराई, केन्द्रीय सदस्यहरू खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनमा जिल्ला अधिवेशनमा वडा, गाउँपालिका, नगरपालिका कमिटी, सल्लाहकार परिषद्, कम्युनिस्ट मञ्च, खोटाङ–काठमाडौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसङ्ख्यक, सीमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट एक हजार प्रतिनिधिको सहभागिता रहेको अधिवेशन प्रचार–प्रसार विभाग प्रमुख दिलचक्र राईले बताए ।