सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २३ पुस : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छन् । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्नेमा जोड दिइन् ।
शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् ।
‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्यविहीन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ’, मन्त्री श्रेष्ठले भनिन् ।
सहकारी संघ संस्थाहरु सदस्यहरुको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्धत भएकोतर्फ संकेत गर्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताइन् ।
सन्दर्भ ब्याजदरकै विषयमा बोल्दै मन्त्री श्रेष्ठले बढाउने भन्दा पनि बरु घटाउनुपर्ने बताइन् ।
हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थालेपनि सहकारी अभियन्ताहरु उक्त सन्दर्भ ब्याजदरलाई समय सापेक्षा अब कम्तिमा पनि २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।
सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् ।
यस्तै, उपाध्यक्षमा अन्नपूर्ण पोस्ट् दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सह सचिवमा गोरखापत्र दैनिकका भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मेरोलगानी डटकमका सुधा देवकोटा र विकास न्यूज डटकमका सन्तोष रोकाया चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।