सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २० पुस । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
संसद्मा प्रतिनिधित्व गर्ने नै राजनीतिक दलका मात्र उम्मेदवार राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सड्घीय संसद्मा प्रतिनिधित्व गर्ने नै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी परेको हो ।
गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिएका छन् । पाँच दलीय गठबन्धनले रिक्त १९ सिटमा साझा उम्मेदवार उठाउन गरेको निर्णयको सराहना गरिएको उक्त विज्ञप्तिमा गठबन्धन दललाई धन्यवाद दिनुका साथै अन्य दलका सम्बन्धित जनप्रतिनिधि मतदातालाई पनि साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरिएको छ । पार्टीले लुम्बिनी प्रदेशमा दलिततर्फको रिक्त सदस्य पदमा तुलप्रसाद विश्वकर्मालाई गठबन्धनको साझा उम्मेदवार बनाएको विज्ञप्तिमा उल्लेख छ । उनलाई मतदान गरी विजयी बनाउन पार्टीले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई आग्रह गरेको छ ।