सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १९ पुुस । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायणदत्त मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको छ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन बैठकले सबै मतदाताहरूलाई हार्दिक आह्वान गरेको उनले बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
एमालेका उम्मेदवार तय नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यमा रिक्त पदको निर्वाचनका लागि १९ जना उम्मेदवारहरू तय गरेको छ । एमालेको आइतबार भएको सचिवालयको बैठकले गरेको निर्णय आज सार्वजनिक भएको हो । एमालेले प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु), प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ विना साह (रौतहट) वाग्मती प्रदेशमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकी प्रदेशबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) लाई उम्मेदवार तोकेको छ । यसैगरी, लुम्बिनी प्रदेशमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) कर्णाली प्रदेशमा खुलातर्फ चुडामणि शर्मा (सुर्खेत), महिलातर्फ गङ्गा थापा महत (जुम्ला) र अल्पसङ्ख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश विक (बैतडी) लाई बनाइने भएको छ ।