सत्तारुढ गठबन्धनका शीर्ष नेताले यसरी गरे राष्ट्रिय सभा सदस्य सिट भागबन्डा 

कांग्रेसलाई ६, माओवादी र समाजवादीलाई ५–५ जसपा २ र जनमोर्चालाई १ सिट
सोमबार, पुस १९, २०७८

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदमा भागबन्डा गर्न सहमत भएका छन् । 
सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।
यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको हो । माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए। बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।  राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार