मुलुकलाई समृद्ध बनाउन समाजवाद लक्ष्यका साथ हामी अघि बढेका छौँ : माधव नेपाल

शनिबार, पुस १७, २०७८

लमजुङ, १७ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । आज लमजुङ बेँसीशहर नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी लमजुङद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले असल भावनासहित समृद्धिको यात्रामा अघि विश्वास दिलाए । उनले जनताको जीवन खुशी र सुखी बनाउने लक्ष्यका चाँडै पूरा हुने दाबी गरे । 
उनले भने, “आधुनिक सीप, क्षमता प्रविधिका साथमा सिर्जनात्मक काम गर्ने र अरुले गर्न नसकेको काम गर्नेछु ।” त्यस्तै उनले जनता र देशको सेवा लाग्ने आफ्नो पार्टी भएकाले जनता र देशको सेवामा नलाग्नेलाई आफ्नो पार्टीमा ठाउँ नरहेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको सिद्धान्त नै लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने रहेको बताए। एकीकृत समाजवादीले यतिबेला सङ्गठन विस्तारमा जोड दिँदै अघि बढ्ने क्रममा हालसम्म ७६ जिल्लामा र ५०० पालिकामा र छ हजार ७०० वडामा सङ्गठन निर्माण गरिसकेको उनको भनाइ छ ।
सङ्गठन विस्तारमा लागेकाले विचार प्रष्ट पारेर अघि बढ्न कार्यकर्तालाई उनले आग्रह गरे । सबैको सुरक्षा गर्ने एकीकृत समाजवादी पार्टीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढेको नेता नेपालले बताए । त्यस्तै नेता नेपालले आगामी चुनावसम्मै गठबन्धन सरकार अघि बढ्ने बताए । 
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार ‘किसान’ श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवाका लागि सहज वातावतरण र व्यवस्थित बनाउने बताए । उनले रोजगारीको सिलसिलादेखि श्रम रोजगार तथा सामाजिक मन्त्रालयले लमजुङ जिल्लालाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताए । मन्त्री श्रेष्ठले आफ्नो पार्टी विस्तारै सङ्गठन विस्तार गर्दै  अघि बढेकाले आगामी दिनमा देशकै सबैभन्दा ठूलो पार्टी बन्ने बताए ।

एमालेका पूर्वसांसद एकीकृत समाजवादीमा प्रवेश
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गरेका हुन् । 
रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । 
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकाले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको रायमाझीले बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले बताए । एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने उनले बताए ।
कर्णालीबाट एकीकृत समाजवादीका प्रस्तावित उम्मेदवार सिफारिस
राष्ट्रियसभामा रिक्त हुने सदस्य पदका लागि नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेशबाट १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको छ । 
प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो । 
पार्टीका कार्यालय सचिव वसन्त विश्वकर्माले पुरुषतर्फ नौ र महिलातर्फ सात जनाको नाम टुङ्गो लगाई केन्द्रमा पठाएको जानकारी दिए । उनका अनुसार उदय बोहरा (सल्यान), कृष्णबहादुर बुढा क्षेत्री (जाजरकोट), टेकबहादुर खाँण (दैलेख), देवीलाल थापा (जुम्ला) , बरुनाथ योगी (दैलेख), लोकबहादुर हमाल (हुम्ला), शिवप्रसाद उपाध्याय (सुर्खेत), शेरबहादुर केसी (रुकुमपश्चिम), हंशबहादुर शाही (डोल्पा)लाई सिफारिस गरेको छ । 
त्यस्तै अछामपुरा मल्ल भाम (मुगु), कल्याणी खड्का (रुकुमपश्चिम), कृष्णकला पाण्डे (कालीकोट), रीता रावल (जाजरकोट), लक्ष्मी शर्मा (सुर्खेत), शान्ता शाही (जुम्ला), शारदा परियार (सल्यान)को नाम उम्मेदवारका लागि प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका प्रदेश कार्यालयका सचिव विश्वकर्माले प्रदेश कमिटीले पठाएका नाममध्येबाट पार्टी केन्द्रले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने बताए ।
राष्ट्रियसभामा यसपटक रिक्त हुने १९ मध्ये कर्णाली प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् । कर्णालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका रुकुमपश्चिमका ठकेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ । पुरी हाल एकीकृत समाजवादी, बोगटी नेकपा (एमाले) र बुढा नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् । कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य र १५६ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १९१ मतदाता छन् । आगामी माघ १२ गते वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलाई निर्वाचन अधिकृत तोकिसकेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार