सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गर्नुरहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनलmे लोकतन्त्र स्थापित भइसकेको वर्तमान अवस्थामा लोकतान्त्रिक चरित्रको निर्माण आवश्यक भएको बताए । हाम्रो व्यवस्था ठिक रहेको अवस्थामा व्यवहार पनि ठिक हुनुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक संस्कृतिको विकास अहिलेका आवश्यकता भएको बताए । व्यवहार गतल भएकाको दोष व्यवस्थाको टाउकोमा बोकाउन नहुने उल्लेख गर्दै महामन्त्री शर्माले संविधानमा नै उल्लिखित विषयका माध्यमबाट धेरै राम्रो गरेर जान सकिने बताए । प्रतिस्पर्धी दललाई पनि सुधारेर लैजानुपर्ने उनको भनाइ थियो । हिजोभन्दा आजका बोल्ने र सोच्ने विषय गुणात्मक हुनुपर्नेमा जोड दिँदै उनले महामन्त्रीका रूपमा निर्वाचित भइसकेपछि आम कार्यकर्ताको भावनाअनुरूप बोल्नभन्दा पनि काममा लाग्ने विश्वास व्यक्त गरे । आफू महामन्त्रीको उम्मेदवार बन्दै गर्दा उमेरले नभई एजेन्डाका आधारमा देश चल्नुपर्ने कुरालाई आत्मसात गरी एक, दुई, तीन र चारको सिद्धान्तलाई अघि सारेको उनले बताए । आफूले देशमा राजनीतिलाई सुधार गर्दै लैजानका लागि कोही पनि एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाइने, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने, तीन पटकभन्दा बढी मन्त्री बन्न नपाइने र चार पटकभन्दा बढी सांसद बन्न नपाउने गरी व्यवस्था गर्ने प्रस्ताव अघि सारेको बताए । समाजमा प्रत्येकले आशा र भरोसा गर्ने कांग्रेस वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले प्रत्येक कांग्रेसी कार्यकर्ताको चरित्र तथा उसको भूमिकालाई आमजनमानसले विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिए । पार्टीमा आर्थिक अनुशासन जरुरी रहेको बताउँदै महामन्त्री शर्माले पार्टीका प्रत्येक एकाइले नियमित आर्थिक पारदर्शिता राख्ने व्यवस्था मिलाउनुपर्ने बताए । कार्यक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेसमा लामो समयसम्म योगदान गरेका ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका थिए । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विपीले तत्कालीन समयमा अघि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुरु बराल, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, कांग्रेस नेता खेमराज पौडेललगायतले मेलमिलाप दिवसको सान्दर्भिकताका बारेमा बोलेका थिए ।
'गुटबन्दी अन्त्य गर्नुपर्छ' नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताए । देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राखे । “गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ”, उनले भने । १४औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताए। वरिष्ठ नेता पौडेलले बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । “बीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको छ, बीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ”, पौडेलले भन्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताए । केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । सो अवसरमा कांग्रेसको १४औँ महाधिवेशनका क्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जितप्रकाश आलेलाई निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले पद हस्तान्तरण गरेका थिए ।