राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य: प्रधानमन्त्री

शुक्रबार, पुस १६, २०७८

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य भएको बताए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गरेका शुभकामना सन्देशमा उनले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यक हुने उल्लेख गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको उल्लेख गर्दै उनले सबैमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्रीले भने, “बिपी कोइराला तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यान नै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गर्नुभएको थियो । यो दिनले हामी सबैलाई सधँै देशभक्ति र लोकतन्त्रप्रति प्रतिबद्धताका लागि प्रेरणा दिइरहेको छ ।” विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केका आजको दिनलाई मेलमिलाप दिवसका रुपमा मनाइदै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार