सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ११ मंसिर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् ।
उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् ।
'एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के,' देउवाले भने ।
यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए ।
'गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन'
प्रधानमन्त्री देउवाले अहिले बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन् ।
देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन् । मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएको देउवाले बताएका थिए ।
उनले प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताएका थिए । 'मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाई गर्नुभएको हो,' उनले भने ।
'माओवादी अध्यक्षमा प्रचण्डलाई नै देख्छु'
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रको अध्यक्षमा आफूले प्रचण्डलाई नै देखेको बताएका छन् ।
आइतबारबाट सुरु माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले माओवादीले कसलाई नेता बनाउने थाहा नभए पनि आफूले प्रचण्डलाई नै देखेको भन्दै उनले शुभकामना दिए । ‘तपाईंहरुले कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु । उहाँलाई पनि धेरै धेरै शुभकामना ’देउवाले भने ।
केही समय अघि सकिएको एमालेको महाधिवेशनबाट केपी शर्मा ओली र कांग्रेसको महाधिवेशनबाट देउवा पार्टी नेतृत्वमा दोहोरिएसँगै उनले प्रचण्डलाई शुभकामना दिएका हुन् ।
माओवादी यसपटकबाट बहुपदीय प्रणालीमा जाँदै छ र १५ सदस्यीय पदाधिकारीको तयारी गरिएको छ । अध्यक्षमा भने प्रचण्डलाई चुनौती दिन सक्ने अरु नेता देखिएका छैनन् ।