कांग्रेस प्रदेश २ को चुनाव आज 

बिहीबार, पुस ८, २०७८

काठमाडौं, ८ पुस । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज बिहान मतदान हुने भएको छ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले आज विहान मतदान गर्न माग गरेपछि मतदान आज बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबारै मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो । 
प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र  देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

७२ सदस्य प्रदेश समितिको लागि १७४ जनाको उम्मेदवारी 

७२ सदस्य प्रदेश समितिको लागि १७४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभापतिका लागि देउवा समुहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।  
दुई  उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव र  निधी–कोइराला समूहबाट धनलाल ठोकर र विनोदकुमार खनालले उम्मेदवारी दिएका हुन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रूपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।
दुई महामन्त्रीका लागि पनि पाँच जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो र देउवा समूहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । विनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधी–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।
महिलातर्फ एक सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव र निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै सहमहमन्त्री खुलाबाट दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश सदस्य खुलामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला सात पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट आठ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला आठ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य एक पदका लागि चार जना, प्रदेश सदस्य आदिवासी जनजाति खुला एक पदका लागि तीन, प्रदेश सदस्य मधेशी खुला सात पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुला तीन पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला दुई पदका लागि पाँच, प्रदेश सदस्य खुला थारू एक पदका लागि दुई र प्रदेश सदस्य महिला थारू एक पदका लागि दुई जना, प्रदेश सदस्य मुस्लिम खुला दुई पदका लागि पाँच जना र प्रदेश सदस्य मुस्लिम महिला एक पदका लागि तीा र प्रदेश सदस्य अल्पसंख्यक अपांग एक पदका लागि चार जनाको उम्मेदवारी परेको हो ।

पाँच जना सदस्य निर्विरोध निर्वाचित
नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका हुन्।
प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार