राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको सूचना भोलि प्रकाशित हुँदै 

बुधबार, मंसिर २९, २०७८

काठमाडौँ, २९ मङ्सिर । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई  दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दैछ । उक्त निर्वाचनका सन्दर्भमा यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित भइसकेको छ । निर्वाचन कार्यतालिका र कार्यक्रमअनुसार आन्तरिक तयारी कार्य तीव्ररुपमा अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए।राजनीतिक दल दर्ताका लागि आगामी पुस १ देखि १० गतेसम्मको समय उपलब्ध हुने जानकारी दिएको छ । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् । 
आगामी पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुनेछ । समाजका प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । आगामी निर्वाचन सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहका सात पदका लागि हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट विज्ञका रूपमा मनोनित रामनारायण बिडारीको पदावधि पनि फागुन २० मै समाप्त हुँदैछ ।
उक्त निर्वाचनमा भाग लिने उम्मेदवारलाई पुस २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुख रहनुहुनेछ । उक्त निर्वाचनका लागि अर्थ मन्त्रालयबाट रु पाँच करोड ९० लाख बजेट आयोगले प्राप्त गरिसकेको छ । निर्वाचनका लागि प्रदेशगतरुपमा १५ कार्यालय स्थापना हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार