काँग्रेस सभापतिमा पुनः निर्वाचित भएका देउवालाई प्रचण्डको बधाइ  

बुधबार, मंसिर २९, २०७८

काठमाडौँ, २९ मङ्सिर । नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रचण्डले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।  

सुशील कोइराला फाउन्डेसनको पनि बधाइ  

कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएकोमा देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको छ । फाउन्डेसनका अध्यक्षसमेत रहेका पार्टी महामन्त्री डा. शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको विज्ञप्तिमा दोस्रो कार्यकालमा पार्टीभित्र पूर्ण एकता एवं मेलमिलाप कायम गर्दै आगामी तीनै तहको निर्वाचनमा बहुमत दिलाउन सफलता मिलोस् भन्ने कामना गरेका छन् । पार्टीभित्र सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभापतिकै काँधमा रहेकाले आगामी दिनमा आन्तरिक एकता एवं मेलमिलाप कायम गर्न पनि सभापतिलाई सफलता मिलोस् भनी वक्तव्यमा कामना गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार