संसद्को अवरोध हटाउन माओवादीले पहल गर्ने

मंगलबार, मंसिर २८, २०७८

काठमाडौँ, २८ मङ्सिर । नेकपा (माओवादी केन्द्र) ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद््मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन ।
बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक राजनीतिक अवस्था र सङ्घीय संसद््को बैठकमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा निर्देशन दिएका थिए । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा अध्यक्ष दाहालले सङ्घीय संसद्को बैठकमा प्रभावकारी भूमिका खेल्न र जनताको पक्षमा दह्रोसँग उभिन निर्देशन दिए ।
यस्तै बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ । त्यस्तै, सचेतकमा गंगा बेल्वासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ । बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतक, सचेतकलगायत रहेका छन् । 

प्रतिनिधिसभाको बैठकमा छ अध्यादेश पेश 

प्रतिनिधिसभाको आजको बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८’सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नुभयो । मन्त्री बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । मन्त्री बडूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरे ।
एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको  आरोप लगाउँदै एमालेले संसद बैठक अबरुद्ध गर्दैै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

एमालेले सदन अवरोध कायमै राख्ने

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।
सो पार्टीका अध्यक्ष एवं  संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने निर्णय भएको हो । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखबाट त्यसको सुनुवाइ नभएको आरोप एमालेले लगाउँदै आएको छ ।
आजको बैठकमा सो पार्टीका अध्यक्ष ओलीले आफू अन्याय सहेर निरीह भएर बस्न नसक्ने भएकाले विरोध कायम राख्ने र आवश्यक परे अवरोध गर्ने चेतावनी दिए । अध्यक्ष ओलीले संसदीय समितिमा एमालेले आफ्नो हैसियतका आधारमा सभापतिमा हेरफेर हुनुपर्ने अडान व्यक्त गरे । उनले राज्यका सबै अङ्ग प्रभावहीन अवस्थामा पुगेको जिकिर गर्दै आफू देशहितका पक्षमा सशक्तरुपमा उभिने बताए ।
सभामुख सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट खगराज अधिकारी र कृष्णभक्त पोखरेल सहभागी भई सांसद्लाई कारबाही नगरेसम्म संसद् नचल्ने अवगत गराएको जानकारी गराएका थिए । 

प्रक्रियाभित्र रहेर असहमति राख्न सभामुखको आग्रह
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । सभाको १०औँ अधिवेशनको पहिलो बैठकमा नारावाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सँधै नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराएका हुन् । 
जनप्रतिनिधिहरुको सर्वाेच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उनले आग्रह गरे । सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराए ।
तत्पश्चात् सभामुखले लोकतन्त्र र गणतन्त्र स्थापनामा शाहदत प्राप्त गर्ने शहीदप्रति एक मिनेट मौन धारण गर्न आग्रह गर्दा भने प्रमुख प्रतिपक्षका सांसद् मौन रहेका थिए । सभामुखले सभामुखको अनुपस्थितिमा सदनको कारबाही अघि बढाउन केही सांसद्  मनोनयन गर्नुभयो । एमालेले भने उक्त सूचीमा आफूहरुले कुनै नाम नदिएको जनाएको छ । विरोधबीच बैठकमा कार्यसूची अघि बढाइएको छ । 

सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिने कानुनमन्त्रीको भनाइ   
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताएका छन् । 
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरुको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताएका हुन् । 
उनले आजको बैठकमा पनि अध्यादेश पेशबाहेक अन्य कार्यसूची अघि नबढाइएकाले निजामति कर्मचारी विधेयकजस्ता महत्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने कार्यसूची ल्याउन सदनको अवरोध हटाइ प्रतिपक्षसँग उचित वातारण निर्माण गरिने उल्लेख गरे । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार