कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

मंगलबार, मंसिर २८, २०७८

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।  सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि  पुनः निर्वाचन भएकोे हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।   पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र अर्का प्रतिस्पर्धी केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए । 

कांग्रेस सभापतिका लागि पुनःमतदान सुरु, प्रधानमन्त्रीद्वारा मतदान
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान सुरु भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गराएको हो ।  
काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा  सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित छन् । यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गरिसकेका छन् । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार