लिम्बू समुदायको धाननाच लोप हुँदै, संरक्षणमा युवापुस्ताको ध्यान गएन

आइतबार, असोज ३१, २०७८

तेह्रथुम : पूर्वी नेपालमा बसोबास गर्र्दै आएका लिम्बू समुदायको आफ्नै भाषा, लिपि, कला, संस्कार र संस्कृति रहँदै आएको छ । धान नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो । 

पछिल्लो पुस्ताले यो धान संरक्षणलाई चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । विषेशगरी सोल्टीसोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातिको विशेषता हो । 

विवाह तथा विभिन्न चाडपर्व र मेलाहरूमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ । यो सुखदुःखको समयमा साइनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै, अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो । 

जातीय चिनारी बोकेको नाच ‘धान नाच’ लोप हुने अवस्थामा छ । युवाहरू रोजगारको लागि विभिन्न मुलुकमा पुग्नु र पहिलो पुस्ताहरू अस्ताउँदै गएपछी धान संकटमा पुगेको किराँत याक्थुङ चुम्लुङका छथर अध्यक्ष थानाहाङ तिगेलाले बताए । 

विगतमा यो नाच सात दिन सात रातसम्म नाच्ने प्रचलन थियो । यो नाचमा केटा र केटीले हात समातेर ‘पालाम’ मार्फत मनको भाव सुनाउने गर्दछन् । पालाम गाउँदै जुहारी खेल्दै गएपछि एक अर्काबीच मन परापर भएमा बिहेसम्म गरिन्छ । तर, अहिलेको पुस्ताले यो कुरा बिर्सदै गएकोप्रति अग्रजहरू चिन्तित बनेका छन् । 

पछिल्लो पुस्तालाई धान नाचसम्बन्धी ज्ञान नभएै कारण लोप हुने अवस्थामा पुगेका किरात याक्थुङ चुम्लुङका अध्यक्ष गगेश कुमार सेनेहाङले बताए । उनले भने, ‘अहिलेका नयाँ पुस्तालाई धान नाच्नै आउँदैन, धान नाच के हो भन्ने नै थाहा छैन । यसले गर्दा लिम्बूहरूको सांस्कृतिक नाच धाननाचको संरक्षण गर्न कठिन छ । 

परापूर्वकालमा धान पाकेको समयमा सबै गाउँले भेला भएर एकै ठाउँ खलामा धान माडिने गरिएको र छेउछाउमा आएका चराचुरुङ्गीहरूलाई धपाउन ‘हा.. हा.. हा‘’ गरेर धपाइन्थ्यो । साथै धान खाने चरालाई धपाउँदा धपाउँदै धाननाच शुरु भएको किंवदन्ती रहेको लिम्बू संस्कृतिविद्हरूको भनाइ छ । 

बसाइसराइ र वैदेशिक रोजगारीले युवा पुस्तामा धान नाचसम्बन्धी ज्ञानको कमी हुँदै गएको जानकारहरू बताउँछन । धाननाच संरक्षणका लागी युवापुस्ताको इच्छाशाक्ती जाग्ने खालको कार्यक्रम ल्याउन पुर्ने लिम्बू संस्कार संस्कृतीका अभीयान्ता टेकराज तिगेलाले भनाइ छ ।

आफ्नो प्रेमिल भाव व्यक्त गर्दै नाचिने यो नाच संरक्षणका लागि राज्यले ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको अभियान्ताहरूको भनाइ छ ।  मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रिति साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धान नाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ । 

धाननाच पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, पाँथचर, ईलाम, ताप्लेजुङ्ग लगायतका पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू समुदायले नाच्ने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार