लोप हुँदै रोटे पिङ, संरक्षणमा छैन पछिल्लो पुस्ताको चासो

शनिबार, असोज २३, २०७८

तेह्रथुम : तेह्रथुम हमरजुङका ७० वर्षीय लिलामायासँग सानो छँदा काठले बनाएको रोटे पिङ खेल्न नजिकको पिपलडाँडाका ठाउँठाउँमा पुगेको अनुभव छ । उनी साथीभाइसँगै रोटे पिङका लागि लाइन लागेर खेल्थे । तर पछिल्लो समय भने त्यस्तो पिङ खेल्ने त परको कुरा, देख्नसमेत पाएका छैनन् । गाउँको दुई घन्टा टाढा पनि रोटे पिङ खेल्न पुगेको उनले स्मरण गरे । ज्ञानेन्द्र लिम्बुको अनुभव उस्तै छ । लिलामाया र ज्ञानेन्द्र मात्रै होइन, पहाडी जिल्लाका प्रायः सबैको एउटै कुरा सुन्न पाइन्छ, ’दशैंमा रोटे पिङ खेल्न पाइनै छाड्यो ।’

केही दशक अघितिर तेह्रथुमको गाउँहरुमा दशै तिहार नजिकिँदै गर्दा रोटे पिङ हालिन्थ्यो । केटाकेटी, युवायुवतीदेखि उमेर ढल्केका पनि पिङमै रमाउँथे । दिनभरी कामको थकानहरु पिङसँगै भुल्थे । गाउँको केन्द्रमा एउटा एउटा मात्रै पिङ भएकाले प्राय भीड घट्दैन थियो । निकै मेहनत, श्रम अनि लगानी लाग्ने भएकाले पनि कमै हाल्थे रोटे पिङ । खासगरी सखुवाको काठलाई कुदेर बनाइने यो पिङको महत्व छुट्टै थियो । पूर्वी नेपालका पहाडी भेगहरुमा यो पिङ हालिने प्रचलन थियो । दिनभरी काम गरी साँझ गाउँका दौतारीहरु मिलेरे पिङ खेल्न जाने गरिन्थ्यो ।

मुलुकमा संघीयता कार्यन्वयनमा आएपछि झन् स्थानीय सरकार, समुदाय र युवा पुस्ताले आफ्नो कला, संस्कृति, परम्परा र चलनको  संरक्षण गरी आउने पुस्तामा हस्तान्तरणको तयारी गर्नुपर्नेमा आफैंले भुल्दै गएको बुढापाकाको गुनासो छ ।

कुलबहादुर लिम्बुलाई पहिले आफूलाई आफ्नो कला, परम्परा र चलन जोगाउने  ठूलो चिन्ता भएको तर,अहिलेका पुस्तामा त्यो नभएको बताए । पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र परम्परा भुल्दै गएपछि अहिले यस्तो पिङ देख्नसमेत मुस्किल भएको म्याङलुङका टीआर सेनेहाङले बताए । संरक्षण र युवा पुस्ताहरु आधुनिकतासँगै मौलिक परम्परा भुल्दै गएपछि यी र यस्ता मौलिकता लोप हुँदै गएको उनको भनाइ छ ।

लोप हुँदै गएको यो पिङ धनकुटाको छथर जोरपाटी गाउँपालिका काजिमाने पिङडाडामा मात्रै देख्न सकिन्छ । बर्षेनि यहाँका युवाहरुले पिङ संरक्षण गर्न लाग्दै आएको स्थानीय विजयप्रकाश लिम्बुले जानकारी दिए । दशैँको नवमीको दिन यहाँ नजिकै राखिएको निसानलाई यही डाँडामा हर्ष उल्लासका साथ पूजा गरिँदै आइएको छ । स्थानीय तथा छिमेकी जिल्लाका युवायुवतीहरु यो डाँडामा आएर पिङ खेल्दै निसान हेर्ने गरेको स्थानीयहरु बताउँछन् । 

 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार