डब्लुएचओका महानिर्देशक टेड्रोस अफगानिस्तानमा

मंगलबार, असोज ५, २०७८
 

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुगेका छन् । अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार अवलोकन गर्न उनी अफगानिस्तान गएका हुन् ।

टेड्रोसले कोभिड महामारी, पोलियो भ्याक्सिनेसन अभियान, आपत्कालिन स्वास्थ्य सुरक्षा क्षेत्रको महत्व लगायत बिषयमा तालिवानका अधिकारिहरूसँग छलफल गर्ने कार्यतालिका छ ।

कोभिड महामारीबीच राजधानी काबुल पुगेका टेड्रोसले डब्लुएचओले अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिने विषयमा समेत छलफल गर्ने अफगानिस्तानका स्वास्थ्यमन्त्री डा. वाजिद मजरुह्ले बताए । यसबीच मजरुह्ले स्वास्थ्यमन्त्रीका रुपमा आफ्नो कार्यकाल मंगलबार सकिने ट्वीटरमार्फत जानकारी दिएका छन् ।

टेड्रोस डब्लुएचओको पूर्वी भूमध्य क्षेत्रीय कार्यालयका निर्देशक अह्मद अल मन्धारीसँग अफगानिस्तान पुगेका हुन् ।

अफगानी नागरिकको स्वास्थ्य सुरक्षा डब्लुएचओको प्राथमिकतामा रहेको बताउँदै टेड्रोसले त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र तालिबानी नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए ।

तालिवानद्वारा सत्ता कब्जापछि अफगानिस्तान पुग्ने उनी संयुक्त राष्ट्र संघका पहिलो उच्च अधिकारी हुन् । साथै उनले प्यान अमेरिका हेल्थ अर्गनाइजेसन (पीएएचओ) काउन्सिलको ५९औं भर्चुअल कार्यक्रममा पनि काबुलबाटै सहभागिता जनाए । पीएएचओले उत्तर तथा दक्षिण अमेरिकाका मानिसको स्वास्थ्य अवस्थाको सुधार तथा सुरक्षाका लागि काम गर्दै आएको छ।-एजेन्सी

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार