देशभर रेबिज खोपको अभाव

उपचारका लागि काठमाडौं आएका विरामीको टेकुमा मृत्यु
सोमबार, असार ८, २०८३

काठमाडौं । रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रागिरि नगरपालिकामा एकजनाको मृत्यु भएको छ । रेबिज संक्रमणकापछि  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । केही हप्ताअघि कुकुरले टोकेका ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) लगाएका थिएनन् । स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले हेलचेक्र्याइँ गर्दा ती पुरुषको ज्यान गएको चिकित्सकहरूले बताएका छन् ।
सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोपको चरम अभाव छ ।  अहिले रेबिजका बिरामीहरु महँगो मूल्य तिरेर निजी औषधि पसल (फार्मेसी) बाट खोप किन्न बाध्य छन् । टेकु मात्र नभई देशभरका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिजविरुद्धको खोपको तीव्र अभाव छ ।  जसका कारण सर्वसाधारणको जीवन उच्च जोखिममा परेको छ । समयमै खोप लगाएर मानिसलाई रेबिज हुनबाट जोगाउन सकिन्छ । तर एकपटक लक्षण देखिएपछि यो रोग सधै घातक हुने चिकित्सकहरु बताउँछन् ।  शुक्रराज अस्पताल, टेकुका अधिकारीहरूका अनुसार अहिले दैनिक ५०० भन्दा बढी कुकुरले टोकेका बिरामीहरू खोप लगाउन अस्पताल पुग्ने गरेका छन् । जिल्ला तहका स्वास्थ्य संस्थामा खोप नहुँदा बिरामीहरूसँग काठमाडौँ धाउने वा निजी फार्मेसीमा महँगो शुल्क तिरेर खोप किन्‍नेबाहेक विकल्प छैन । 
खोपको चरम अभाव भएपछि टेकु अस्पतालले यसअघि गण्डकी प्रदेश सरकार र काठमाडौँ महानगरपालिकासँग खोपको मात्रा माग गरेको थियो ।
विगतमा २४ सै घण्टा रेबिजविरुद्धको खोप उपलब्ध गराउँदै आएको अस्पतालले अहिले अभावकै कारण आकस्मिक (इमर्जेन्सी) विभागबाट दिइने खोपको दोस्रो डोज बन्द गरेको छ । अस्पतालले बिरामीहरूलाई दोस्रो डोजका लागि ओपीडीमा आउन आग्रह गर्न थालेको छ ।
रेबिज प्रतिरोधका लागि नियमित चार डोजको कोर्स पूरा गर्नुपर्छ । हरेक डोज तोकेको समयमै लगाउनुपर्ने हुन्छ । कामका क्रममा हिँडडुल गर्नुपर्ने भएकाले विशेषगरी सडकका कुकुरहरूले टोक्ने जोखिममा श्रमजीवि वर्ग पर्ने गरेका छन् ।
निजीमा उपचार महँगा हुने हुँदा सरकारी अस्पतालमा सेवा प्रभावित हुँदाको सबैभन्दा ठूलो मार उनीहरुलाई नै पर्छ । 
रेबिज एक घातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर र स्यालजस्ता जनावरको र्‍यालमार्फत् यो रोग फैलन्छ । नेपालमा रेबिजको समस्याका लगभग सबै घटना कुकुरको टोकाइबाट सिर्जित छन् ।
नेपालमा सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्रै वार्षिक ६० हजारभन्दा बढीले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् भने हजारौँले निजीमा उपचार गराउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।
तर स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भने कुकुरले टोक्ने घटना वर्षेनी बढिरहेको देखाउँछ ।आधिकारिक अनुमानअनुसार नेपालमा बर्सेनि १०० भन्दा बढी मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार विश्वभर प्रति नौ मिनेटमा एक जनाको रेबिजका कारण मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका र विपन्न वर्ग पर्दछन् ।
 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार