जनताको आकांक्षा पूरा हुने गरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

शुक्रबार, असार १९, २०८३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन् । गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुंगानालाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्दै मन्त्री तिमिल्सिनाले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।  उनले गोरखापत्र संस्थान र सुरक्षण मुद्रण केन्द्र सरकारका महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै गोरखापत्रलाई ऐतिहासिक तथा सुरक्षण मुद्रण केन्द्रलाई रणनीतिक महत्वको संस्था भएको बताए। संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण, सुदृढीकरण र विकास गर्नुपर्नेमा जोड दिँदै उनले आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्न निर्देशन दिए । मन्त्री तिमिल्सिनाले केवल जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए। मन्त्रालयले दुवै संस्थाको सुधार, सुदृढीकरण तथा प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । यसअघि असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका हिक्मतबहादुर रावललाई चार वर्षका लागि गोरखापत्र संस्थानको महाप्रबन्धक तथा मोरङका देवराज ढुंगानालाई बढीमा पाँच वर्षका लागि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त महाप्रबन्धक रावलले सरकारले अघि सारेको सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहको लक्ष्यलाई संस्थागत रूपमा कार्यान्वयन गर्दै गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने बताए । त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक ढुंगानाले विगतमा केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए । उनले सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्वको संस्था भएकाले नैतिकता, व्यावसायिकता, सुशासन तथा निरन्तर सुधारलाई प्राथमिकतामा राखेर संस्थाको क्षमता अभिवृद्धि गरिने बताए । साथै वित्तीय अनुशासन, आधुनिक व्यवस्थापन प्रणाली र प्रभावकारी सेवा प्रवाहमार्फत केन्द्रको विश्वसनीयता अझ मजबुत बनाइने उनको भनाइ थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  २२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार