इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप 

शनिबार, भदौ २६, २०७८

काठमाडौं : काठमाडौं महानगरपालिकाले इन्द्र जात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो ।  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उदेश्यका साथ खोप अभियान चलाइएको बताए । ‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन । अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई नियमित गर्नुपर्ने छ', उनले भने ।  खोपसहित जात्रा सञ्चालनका लागि मास्क, पञ्जा, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइने उनले बताए ।  महानगरको कार्य प्रसंसा योग्य रहेको बताउँदै इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले खुशी व्यक्त गरे । यस वर्ष इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । भदौ २३ गते बिहान १० बजेर ५२ मिनेटमा बनयात्रा सुरु गरिएको थियो । त्यसै दिन बेलुका ७ बजेर २७ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने लिङ्गोका लागि रुख काटिसकिएको छ ।  भदौ २९ गते मंगलबार बिहान १० बजेर ३४ मिनेटको साइतमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । असोज २ गते शनिबार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुनेछ । त्यसको भोलिपल्ट असोज ३ गते कुमारी रथयात्रा सुरु हुनेछ । त्यस दिन बसन्तपुरको तल्लो टोल र असोज ४ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राति १० बजेर ५६ मिनेटको साइतमा इन्द्रध्वज पतन हुनेछ । यसपछि जात्रा सकिनेछ । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार