सोसल मिडिया
Contact Us
युनिकोड
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो । गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडित तथा प्रभावित परिवारका लागि कुल २६ लाख १५ हजार ७४२ रुपियाँ सहयोग गरिएको जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम संकलन गरी बाढी पीडित परिवारलाई सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढी पीडितलाई सहयोग गरिएको रकम स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीको सेवा, सुविधा र पारिश्रमिकबाट सङ्कलन गरिएको हो । सङ्कलित रकममध्ये गाउँपालिकाका जनप्रतिनिधिबाट दुई लाख ३४ हजार २५० रुपियाँ र पालिकामा कार्यरत कर्मचारीबाट छ लाख ४८ हजार ५३२ रुपैंयाँ रहेको छ । त्यस्तै, पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट १७ लाख ३२ हजार ९६० रुपियाँ रकम सङ्कलन भएको छ । गएको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले भोटेकोशीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपतको घटनाबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत विभिन्न जिल्लाका प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको थियो । गाउँ कार्यपालिकाको सोही निर्णयअनुसार रकम सङ्कलन गरी बाढी प्रभावित परिवारलाई सहयोग गरिएको पालिकाले जनाएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण एक हजार बढी नागरिकको मृत्यु भएको छ भने पाँच हजार बढी बेपत्ता भएका छन् ।