सोसल मिडिया
Contact Us
युनिकोड
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको छ । घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सम्मेलन गाउँपालिकाको आयोजनामा हुन लागेको हो । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले आगामी भदौ ३० र ३१ गते जिल्ला सदरमुकाम जोमसोममा सम्मेलन आयोजना गरिने जानकारी दिए । सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, संरक्षणकर्मी, विज्ञ, नागरिक समाज तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहने अध्यक्ष लालचनले बताए । हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमपातको स्वरूपमा आएको परिवर्तन, पानीका मुहान सुक्दै जानु, हिमताल तथा हिमपहिरोको जोखिम, बाढीपहिरो र कृषि प्रणालीमा परेको प्रभावजस्ता विषय सम्मेलनका प्रमुख एजेन्डा रहनेछन् । जलवायु परिवर्तनका कारण मुस्ताङको परम्परागत कृषि, पशुपालन, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पर्न थालेको छ। यस्ता चुनौती सामना गर्न स्थानीय ज्ञान, वैज्ञानिक अध्ययन र सरकारी नीतिबीच समन्वय आवश्यक रहेको सरोकारवालाले बताउँदै आएका छन् । सम्मेलनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, स्थानीय अनुकूलन योजना निर्माण, वातावरणमैत्री विकास तथा हिमाली समुदायको संरक्षणका विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।