बिरामीसँग मात्रै होइन बोटविरुवासँग कुरा गर्ने डाक्टर, डा.पवन

शनिबार, साउन २३, २०७८

पाटन अस्पतालका प्रा.डा.पवन शर्मा अस्पताल साइकल चढेर जान्छन् । दिनभर बिरामीसँग प्रजनन स्वास्थ्यका कुरा गर्छन् । सुरक्षित सुत्केरी र स्वस्थ शिशुका बारेमा डाक्टरी पढिरहेका विद्यार्थीलाई पढाउँछन् । साइकलमै घर फर्कन्छन् । त्यसपछि करेसाबारी र फूलबारीमा पुगिहाल्छन् । त्यसो त उनी बिहान उठ्ने बित्तिकै एक-डेढ घण्टा बगैंचामा बिताउँछन् ।

कुसुन्ती घर भएका डा. शर्माको बगैंचा लोभलाग्दो छ । बगैंचामा सिजन अनुसारको तरकारी फलाउँछन् । फूलले बगैंचा चिटिक्क देखिएको छ । आफ्नै बारीमा तरकारी फलाउनु र थरीथरीका फूल रोप्नु डा.पवनका रहर थियो । त्यसैले, उनी सातदोबाटो बाट कुसुन्तीको घर सरे । कुसुन्तीमा बगैंचा बनाउन पुग्ने जग्गा रहेछ । कुसन्ती सर्नुको कारण खलाए उनले । फरक फरक रंगका गोदावरी फूल, गुलाफ, सिजन अनुसारका फूल उनको बगैंचामा छ । नयाँ नयाँ फूलको खोजीमा उनी उपत्यकाभित्रका प्रायः जसो नर्सरी पुगिसकेका छन् । साइकलमा हिड्दा जहाँ नर्सरी देख्छन्,त्यहाँ पसिहाल्छन् । बिरुवाका बारेमा सोध्छन् । जाति, प्रजाति, त्यसको प्रयोग यस्तै यस्तै कुरा थाहा पाउन व्यस्त हुन्छन् । त्यसरी नर्सरी पस्ने अवसर जुराइदिन्छ , साइकल यात्राले ।

बुधबार र शनिवार साइकलमा उपत्यका घुम्ने दिन हो उनको । यी दुई दिन अस्पतालको काम केही होलो हुन्छ । साइकलमा हिड्दा उनले नियाल्ने अर्को कुरा भनेको अरुको बगैंचा हो । बगैंचालाई कसरी सिंगारिएको छ ? विरुवा के के छन् यस्तै यस्तै कुराले साइकलयात्राको एकाग्रतालाई भंग गरिदिन्छ । अर्को कुरा, साइकल यात्रामा डाक्टर पवनले नछुटाउने कुरा हो, फोटोग्राफी । त्यो फागनुको महिना थियो । ढपक्कै डलब जाई फूल फूलेको बोट देखे उनले । त्यसलाई आफ्नो मोवाइलको क्यामेरामा कैद गरे । त्यसलाई सामाजिक संजालमा पोष्टाए । त्यो फूलबारे धेरै प्रतिक्रिया आएको उनी बताउँछन् । विरुवा र फूलका तस्वीर मात्रै होइन, राम्रो कामलाई फोटोमा कैद गर्न रुचाउँछन् ।

एक दिन धापाखेलबाट खुमलटार गुड्दै थिए उनी साइकलमा । खुमलटारमा ललितपुर महानगरको पानी ट्याङ्करले सडक किनारमा हुर्किदैं गरेको विरुवामा पानी हालेको देखे । त्यो फोटो क्यामेरामा कैद गरे । यस्तो काम गर्न पाउँदा उनलाई एकदैम खुशी लाग्छ । पाटनका पवन भनेपछि नचिन्ने शायदै होलान् । बिरामीको मन र मस्तिष्कमा बस्न सक्ने यी डाक्टरले बिरामीलाई गर्ने व्यवहारबाट धेरैजना प्रभावित भएका छन् । उनी बिरामीलाई कुरा बुझाउँछन् । बरामीका आफन्तलाई समस्या वा अवस्थाबारे खुलस्त पारिदिन्छन् । पेशामा अब्बल यी डाक्टरलाई मैले आउट अफ दि ट्रयाकको प्रश्न सोध्ने धृष्टता गरेँ । डाक्टर नभएको भए के हुनुहुन्थ्यो होला ? उनको मनमा पनि बेलाबखत यो प्रश्न उठ्छ रे । सोचमग्न देखिएका उनले भने, ‘शायद कृषि क्षेत्रमा हुन्थे कि ?’ फेरि मनमा अर्को प्रश्न आयो । साइकल किन चढ्नुहुन्छ? माटोमा खेल्नु र साइकल चढ्नु दुबै डा. पवनको सोख रहेछन् । यी दुई काम गर्दा उनलाई रमाइलो लाग्छ । रमाइलोले खुशी दिन्छ । त्यसैले उनी बगैंचामा विरुवासँग छुटुपुुटु गर्छन् । अनि साइकलमा हुइकिन्छन् ।

मान्छेले अपनाउने पेशा र रुचि जीवनका दुई पाटा भएको डा.पवनको ठम्याई छ । मान्छेले जुन पेशा अपनाउँछ, त्यो पेशामा सामान्यत रुचि हुन्छ नै । आफ्नो रुचिको काम गर्दा त्यसले सुन्तुष्टि र खुशी एकैपटक दिने उनी दाबी गर्छन्् । भन्छन् ‘त्यो खुशीले पेशामा सफल हुन पनि मद्दत गर्छ । ’ उनले नयाँ पुस्तालाई पेशाबाहेक अर्को कुनै क्षेत्रलाई रुचि बनाउन सुझाव दिए । उनलाई बालखैदेखि साइकल खुब मनपथ्र्यो । करीब 10 वर्षदेखि दैनिक साइकल चलाउँदै आएका छन् । त्यसअघि कहिलेकाहिँमात्रै चढ्थे । तर,अहिले साइकल डा. पवनका लागि नभई नहुने साधन भएको छ । माटो र बोटविरुवासँग त ‘पिरती’ नै गाँसिएको छ । अस्पतालमा जतिसुकै ठूलो शल्यक्रिया गरेपनि माटोसँग नखेलेसम्म उनलाई काम नै नगरे जस्तो लाग्छ रे । उनी भन्छन्, ‘मलाई माटोमा खेल्न मन लाग्छ,वोटविरुवासँग कुरा गर्न मन पराउँछु । ’ उनले यो उत्तरले म अवाँक भएँ । वोटविरुवासँग कसरी कुुराकानी ? यो संभव छ र ? मैले सोधेँ । विरुवा नजिक गएर मल पुगेछ, विरुवा कस्तो राम्रो भएछ, यो वर्ष पोहोर जस्तो विरुवा सप्लाएर वा सप्लाएन छ भन्नु भनेको विरुवासँगको संवाद भएको उनी बताउँछन् । त्यसैले त उनी अस्पतालको औपचारिक बिदाको दिन सामाजिक संजालमा छ्यास्स बुधबार, छ्यास्स शनिवार भन्दै फूल, तरकारीका विभिन्न चित्र रुप बनाएर पोष्ट गर्छन् ।

सामाजिक संजालमा सक्रिय उनी संस्कृतका श्लोकदेखि महिला स्वास्थ्य, मानव स्वास्थ्य, चिकित्साशास्त्रमा भएका ठूल्ठूला छलाङ, बारीमा फलेको तरकारी, फूलको फोटो पोष्ट गर्न भ्याउँछन् । विरुवा रोप्ने तरीकासम्म पनि पोस्ट्याउँछन् । फूल र विरुवाका राम्रा विउदेखि गर्भवती अवस्थामा महिलाले अपनाउनुपर्ने सतर्कता जस्ता सबै कुरालाई सामाजिक संजाल मार्फत व्यक्त गर्छन् । सल्लाह र सुझाव दिन्छन् ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार