मेयर्स फोरमका जनप्रतिनिधि र अर्थमन्त्रीबीच भेटघाट

जनप्रतिनिधिले भने, 'चालु आर्थिक वर्षसम्मको विद्युत बक्यौत राफसाफ होस्
शुक्रबार, वैशाख १४, २०८१

ललितपुर ।  काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग भेटेर चालु आर्थिक वर्षसम्मको विद्युत बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत प्राधिकरणले करीब ३ तीन महिना अघि स्थानीय तहलाई विद्युत महसुलको बाँकी बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा उपत्यकाभित्रका स्थानीय सरकारको प्रमुख र उपप्रमुख सिंहदरबार पुगेका हुन् । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले अबको आर्थिक वर्षदेखि स्थानीय तहले नै आफ्नो विद्युत महसुल तिर्ने बताए । उनले भने, ‘चालू आर्थिक वर्षसम्मको राफसाफ होस् , आउने आर्थिक वर्षदेखि ६०-४० मा जाऔंँ ।’

विद्युत महसुल बापत उठेको रकम मध्ये ६० प्रतिशत स्वयम स्थानीय तहले तिर्ने र ४० प्रतिशतमात्रै विद्युत प्राधिकरणले बेहोर्नुपर्ने उनले प्रष्ट पारे । मेयर्स फोरम काठमाडौं उपत्यकाका नगरपालिकाहरुको प्रमुख र उपप्रमुखहरुको संस्था हो । फोरमका अध्यक्ष महर्जनले भने, ‘यो विषयमा आगामी बजेटमा नै केही कुरा आओस्,।’आउँदो आर्थिक वर्षको बजेटमा नै व्यवस्था गर्न उनले अनुरोध गरे । उनीहरुले नगरपालिकाहरुलाई प्राप्त बीलमा उल्लेखित रकम तथ्यपरक नभएको र धेरै वर्ष अघिदेखिको बक्यौता भएको बताए । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले भने, ‘कहिले देखिको बील हो भन्ने पनि थाहा छैन, कसरी त्यति उठ्यो भन्ने पनि थाहा छैन, यो बिलले स्थानीय तहको ढाड सक्छ, ’ उनले काठमाडौं उपत्यकालाई उज्यालो सहित सुरक्षित बनाउने अभियानमा लागेका जनप्रतिनिधि बीलमा उल्लेख भएको रकम देखेपछि निराश भएको बताए ।

बिल नतिरेकै निहुँमा प्राधिकरणले विद्युत लाइन काटिदिए जनप्रतिनिधिको इज्जत नरहने बताए । चन्द्रागिरि नगरपालिकाका प्रमुख तथा फोरमका महासचिव घनश्याम गिरीले आगामी आर्थिक वर्षदेखि विद्युत महसुल तिर्न आफूहरु तयार भएको बताए । यस अघि फोरमका जनप्रतिनिधिले उर्जा मन्त्री शक्ति बहादुर बस्नेतलाई भेटेर स्थानीय तहलाई विद्युत महसुल भुक्तानीका लागि आएको रकम उपर पुनर्विचार गर्न अनुरोध गरेका थिए । काठमाडौं उपत्यका मेयर्स फोरमको गोकर्णेश्वरमा बसेको छैठौ बैठकलले विद्युत प्राधिकरणबाट विद्युत महसुलको बक्यौता तिर्न आएको पत्रको बारेमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुरुप फोरमका पदाधिकारी सहित सदस्यहरु उर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न उर्जा मन्त्रालय गएका थिए । त्यसबखत तत्कालीन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत महसुल बक्यौताको बारेमा छलफल गर्न काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुखहरुलाई अर्थ मन्त्रालय जान अनुरोध गरेका थिए ।

अर्थ मन्त्री भन्छन्, 'छलफल गरेर अघि बढौँ'

अर्थमन्त्री पुनले काठमाडौं उपत्यका मेयर्स फोरमका जनप्रतिनिधिले राखेको मागमा छलफल गरेर अघि बढ्न सकिने बताएका छन् । प्राधिकरण पनि सरकारको एउटा बडी भएको बताउँदै यो विषयमा सकारात्मक ढंगबाट अघि बढ्न सकिने प्रष्ट पारे । उनले भने, ‘प्राधिकरण, उर्जा मन्त्रालयमा पनि छलफल गरौं, सकारात्मक ढंगबाट अघि बढौँ । ’ आफू उर्जा मन्त्री हुँदा पनि यो विषयमा छलफल गरेको उनले स्मरण गरे । विद्युत महसुलको बक्यौता तिर्ने सन्दर्भमा कानुनी छलफल, कानुन संशोधन लगायतका विषयमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री पुनले विद्युत महसुल नतिरेका कारण विद्युत लाइन नकाट्न समेत निर्देशन दिए ।

ll-1714089042.jpg

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार