गोदावरीमा शनिबारदेखि खुला मेयर कप फुटबल (भिडियाे)

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं । गोदावरी नगरपालिकाले वैशाख १५ गतेदेखि उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने युवा जनशक्ति उत्पादनका लागि प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल सञ्चालन गर्न लागेको जानकारी गराइएको हो । 
प्रतियोगिता गोदावरी–१० टाहाखेल, झ्यालुन्टारमा नगरपालिका आफैंले निर्माण गरेको गोदावरी बहुद्देश्यीय रंगशालामा सञ्भमलन हुनेछ । उक्त रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको १ सय ५ मिटर लम्बाइ र ५८ मिटर चौडाइ रहेको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा काठमाडौं जिल्लाका नौ स्थानीय तहका टिम, ललितपुर जिल्लाका चार स्थानीय तहका पाँच टीम र भक्तपुरको एक स्थानीय तहबाट एक टिम गरी जम्मा १५ टिमको सहभागिता रहने छ ।
विजेता र उपविजेता टिमले नगद पुरस्कारमा क्रमशः पाँच लाख र तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै अनुशासित टिमलाई ५० हजार, म्यान अफ द म्याचलाई पाँच हजार रुपैंयाँका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई २५ हजार नगद पुरस्कारको व्यवस्था छ ।
प्रत्येक टिममा २० जना खेलाडीहरु र चार जना अफिसियलसहित अधिकतम २४ जना सहभागी रहनेछन् । प्रत्येकले २५ हजार शुल्क तिरेर टिम दर्ता गराउने व्यवस्था गरिएको थियो ।
प्रतियोगिता सञ्चालन गर्न गोदावरी नगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटवल प्रतियोगिता सञ्चालन नियमावली २०८० नै बनाएको छ । त्यसै बमोजिम प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । 
प्रतियोगिता सञ्चालनका लागि निर्देशक समिति गठन गरिएको थियो । नगर प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा बसेको उक्त समितिको बैठकले प्रतियोगितालाई खेल उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । खेल संयोजक तथा वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्यको नेतृत्वमा विज्ञसहितको कार्यान्वयन समिति गठन गरेर अधिकार समेत प्रत्यायोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  प्रतियोगिता तयारीका लागि गोदावरी नगरपालिकाको प्रतिनिधित्व गर्ने घरेलु दुई टिम छनोट गरेर प्रशिक्षण पनि सञ्चालन गरिएको छ ।
प्रतियोगितामा सहभागी स्थानीय तह १४, गोदावरी नगरपालिकाको २ टिमसहित सहभागी टिम १५, खेलाडी सहभागिता ३०० जना, अफिसियल सहभागिता ६० जना, मुख्य रेफ्री ८ जना, स्वयंसेवक तथा सहयोगी सहित १०१ जना र अन्य जनशक्ति आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था गरिएको छ ।  प्रतियोगितामा विजेता र उपविजेता टोलीले नगद पुरस्कार क्रमश पाँच लाख, तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै अनुशासित टोलीलाई रु ५० हजार ‘म्यान अफ दी म्याच’ लाई रु ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिने छ । 
पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । सो अवसरमा नगर प्रवक्ता मिलन सिलवाल र प्रतियोगिता संयोजक निरोज बज्राचार्यले प्रतियोगिताका बारेमा जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार