ललितपुर महानगर २४ नं. वडाद्धारा आयोजित खेलकुद सप्ताह सकियो (भिडियो)

डोलकपको उपाधि वडा नं. २५ लाई 

आइतबार, वैशाख ९, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलद्धारा आयोजित  खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुदलाई उच्च प्राथमिकता दिँदै वडा नं. २४ ले नयाँ वर्ष २०८१ को सुरुवातसँगै अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरी खेलप्रेमिलाई एक ठाउँमा ल्याउन सफल भएको छ । युवा तथा खेलकुद विकास समितिले वडाअध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल र ब्याडमिन्टनका खेल आयोजना गरेको हो । 

Winner--1713665509.jpg

दोस्रो ७ ए साइड दोस्रो डोलकप फुटबल प्रतियोगिता तथा प्रथम २४ नं. वडा व्यापी ब्याडमिन्टन नाम दिएर अलग अलग प्रतियोगिता सुरु भएका कारण २४ नं वडा खेलमय भएको थियो । नयाँ वर्षको पहिलो दिनबाट ती दुबै प्रतियोगिता सुरु भएका हुन् । हिजो शनिबार फुटलबतर्फका फाइनल तथा ब्याटमिन्टनतर्फका पनि दुईवटा फाइनल खेल भएका थिए । वडा नं २३ चिवाहल क्लब तथा वडा नं २५ (नख्खु जवान) बीच निक्यै प्रतिस्पर्धात्मक फुटबलको फाइनल खेल भएको थियो । पहिलो हाफमा २–० ले अग्रता कायम राखेको वडा नं. २३ को चिवाहल क्लबले उक्त लय जोगाउन नसक्दा प्रतिस्पर्धाको उपविजेतामा चित्त बुझाउन बाध्य भयो । पहिलो हाफमा २–० ले पछि परेको वडा नं. २५ को टोली खेलमा दोस्रो हाफमा कमब्याक गर्दै दुई गोल गरी बराबरी गरेको थियो । दोश्रो गोल दिने रेफ्रीको निर्णयप्रति चित्त नबुझाउँदै वडा नं. २५ का खेलाडीले केही समय प्रोटेस्ट नै गरेका थिए ।

Jeevan--1713663371.jpg
चिवाहलले प्रहार गरेको बल पोष्टमा लाग्दा दिइएको गोलका कारण विवाद भएको थियो । रेफ्रिले २५ नं. वडाका खेलाडीलाई निर्णयप्रति विवाद गर्न थालेपछि पहेँलो कार्ड इस्यु गरेका थिए । धेरै नै विवाद गरेपछि रातो कार्ड पनि दिएका थिए । निक्यै बेरको छलफलपछि रेफ्रिले खेलाडीलाई दिएको रातो कार्ड फिर्ता लिएका कारण पुन खेल सुचारु हुन सकेको थियो । खेल पेनाल्टी सुटआउटमा गएर विजेता छनोट भएको हो । पेनाल्टी सुटआउमा वडा नं.२५ का गोलकिपरले वडा नं. २३ का दुई गोल बचाउ गरेपछि खेलको नजिता २५ नं. वडाको पक्षमा आएको थियो । वडा नं. २५ का गोलकिपर संयोग थापाले खेल अवधि भर नै उत्कृष्ठ बचाउ गरेका थिए । 

match-1713665760.jpg

फाइनल प्रतियोगिताको म्यानअफ म्याच सनिश श्रेष्ठ भएका छन् । यस्तै बेष्ट किपर संयोग थापा हुन सफल भए,  प्रतियोगिता अवधिमा ७ गोल गरी हाइ स्कोररको उपाधि २३ नं. वडा चिवाहल क्लबका निरज महर्जनले जितेका छन् । खेलकुद सप्ताहकै उत्कृष्ठ खेलाडी सनिश श्रेष्ठ भएका छन् । 
डोलकपको उपाधि विजेता टोलीले ७७७७७ रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको छ । उपविजेता टोली वडा नं. २३ चिवाहल क्लबले ३३३३३ रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको छ । 
यस्तै ब्याटमिन्टनतर्फ ५० वर्षभन्दा माथिको उमेर समूहको खेलमा रवि कार्की, ठाकुर कुमार राईको जोडी द्धितिय भएको छ भने शैलेन्द्रमान श्रेष्ठ र पाण्डव कार्कीको जोडी प्रथम भएको छ ।  पुरुष (डबल समूह) तर्फ रतन भण्डारी र सुमन कार्कीको जोडी द्धितीय तथा लब कार्की र अजय कार्कीको जोडी प्रथम स्थान हासिल गरेको छ । 
ब्याडमिन्टनतर्फ  खुल्ला उमेर समूह (पुरुष डबल)का विजेताले २० हजार नगदसहित ट्रफि, द्धितीय हुनेले १० हजार नगदसहित ट्रफि तथा ५० वर्ष भन्दा माथिको उमेर समूहका खेलाडीबाट प्रथम हुनेले १० हजार नगदसहित ट्रफि तथा द्धितिय हुनेले ५ हजार नगदसहित ट्रफि प्राप्त गरेका छन् । समापन समारोहकी प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले फुटबल तथा ब्याटमिन्टन प्रतियोगिताका विजेता टोलीलाई शिल्ड तथा नगद पुरस्कार प्रदान गरिन् । 
फुटबलको फाइनल प्रतिस्पर्धा हेर्न आएका वडा नं २३ का वडाअध्यक्ष जीवन महर्जन, वडा नं. २५ का वडाअध्यक्ष दौलत खत्री, वडा नं. १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन, कार्यपालिका सदस्य रामशरण पहेली, वडाका सल्लाहकारसहित विभिन्न पार्टीका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरिएको थियो । 

match-1-1713665758.jpg

समापन समारोहमा नेशनल बाइक रेसरद्धय  श्री पौडेल, निमेश ठकुरीलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । रेफ्रि दिनेश अधिकारी, आकाश सेवारो तथा ब्याटमिन्टनतर्फको रेफ्रि इन्द्रजीत कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो । 
 युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको खेलकुद सप्ताहको दोस्रो ७ ए साइड डोलकप फुटबल प्रतियोगितामा महानगरपालिका भित्रका २० टिमको सहभागिता रहेको थियो । 
यस्तै प्रथम २४ नं वडा व्यापी ब्याडमिन्टन प्रतियोगितातर्फ खुल्ला उमेर समूह (पुरुष डबलसहित) १२ वटा टिम तथा ५० वर्ष भन्दा माथिका ६ वटा टिमको सहभागिता रहेको खेलकुद समितिका सदस्य मनोज मर्हजनले जानकारी दिए । 

laba-1713665758.jpg

युवा तथा खेलकुद विकास समितिका संयोजक एवम् वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेको सभापतित्वमा आयोजित समापन समारोहमा ललितपुर महानगरपालिका कार्यपालिका सदस्य रामशरण पहेली, वडाका जनप्रतिनिधि इन्द्रा श्रीश राना, निशा मालबुल, उद्धव बस्नेत तथा हरिकृष्ण महर्जनसहित वडा नं. २३, २५, का  जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो । फुटबलको फाइनल खेल हेर्न खेलप्रेमि वडावासीको बाक्लो उपस्थिति रहेको थियो ।
समापन समारोहमा कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले खेलमा हार जित स्वाभिक नै  भएपनि दुबै टिमले राम्रो खेल प्रदर्शन गरेकोभन्दै खेलाडीको प्रशंसा गरिन् । 
उनले २४ नं. वडा भित्र रहेको यो खेल मैदानलाई अर्काे वर्षमा रुप परिवर्तन हुने प्रतिवद्धता व्यक्त गरिन् । 

pradhan--1713665761.jpg

समापन समारोहमा सभापतिको आसनबाट २४ नं वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले आफ्नो वडाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिँदै यस प्रकारको प्रतियोगिता आयोजना गरेको जानकारी दिए । उनले खेलकुदका अन्य विधा पनि समेटेर आगामी वर्ष प्रतियोगितालाई थप भव्य र सभ्य बनाउने उद्घोष गरे । गत शनिबार बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार