जापानी खोपको पहिलो खेप शनिबार आइपुग्ने

बुधबार, साउन २०, २०७८

काठमाडौँ ।  जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी आइपुग्दैछ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले आज साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गरेका  छन् । महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार