‎बेंगलुरुका ९० भन्दा बढी अस्पतालमा नक्कली क्यान्सर औषधि सप्लाइको आशंका

ठूलो र्‍याकेटको पर्दाफास
मंगलबार, भदौ ३०, २०८३

‎रौतहट । भारतको बेंगलुरुमा क्यान्सरलगायत गम्भीर रोगका बिरामीलाई प्रयोग गरिने औषधिसँग सम्बन्धित ठूलो र्‍याकेटको पर्दाफास भएको छ । ‎अनुसन्धान अधिकारीहरूका अनुसार नक्कली तथा पुनःप्याकेजिङ गरिएका क्यान्सरका औषधि, जीवनरक्षक औषधि र आईसीयूमा प्रयोग हुने इन्जेक्सन बेंगलुरुका ९० भन्दा बढी अस्पताल तथा क्लिनिकमा आपूर्ति गरिएको हुन सक्ने आशंका गरिएको छ । ‎बेंगलुरु प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) र ड्रग्स कन्ट्रोल विभागको संयुक्त अनुसन्धानपछि फार्मेसी सञ्चालक वीरेश कुमार जैन पक्राउ परेका छन् । उनी उक्त सञ्जालमा संलग्न रहेको आशंका गरिएको छ । ‎मिनर्भा सर्कलनजिकै रहेको कृपा हेल्थकेयरमा छापा मार्दा ठूलो परिमाणमा शंकास्पद औषधि फेला परेपछि अनुसन्धानले गति लिएको हो । ‎अनुसन्धानकर्ताहरूका अनुसार उक्त सञ्जालले अस्पताल, क्लिनिक तथा मेडिकल पसलहरूमा नक्कली क्यान्सरका औषधि, जीवनरक्षक औषधि र आईसीयू इन्जेक्सन आपूर्ति गर्ने गरेको हुन सक्ने देखिएको छ । ‎शंकास्पद औषधि बजार मूल्यभन्दा करिब ५० प्रतिशतसम्म छुटमा बिक्री हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । अनुसन्धानकर्ताहरूले सस्तो मूल्यका औषधि खरिद गरी तिनलाई फरक नाम र ब्रान्डमा पुनः लेबलिङ गरेर महँगोमा बिक्री गर्ने गरिएको आशंका गरेका छन् । ‎त्यसैगरी, म्याद गुज्रिएका औषधिलाई नयाँ कन्टेनरमा राखेर पुनःप्याकेजिङ गर्ने र प्रतिष्ठित औषधि कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो नक्कली लेबल प्रयोग गर्ने गरिएको हुन सक्ने अधिकारीहरूको आशंका छ । ‎मिनर्भा सर्कलनजिकैको कृपा हेल्थकेयर परिसरलाई मेडिकल पसल, अस्पताल र क्लिनिकमा औषधि पठाउनुअघि भण्डारण तथा वितरण केन्द्रका रूपमा प्रयोग गरिएको हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । ‎यस र्‍याकेटको सञ्जाल कर्नाटकबाहेक अन्य राज्यसम्म फैलिएको थियो कि थिएन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा १५ भन्दा बढी मेडिकल प्रतिनिधि औषधिको ढुवानी तथा वितरणमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ । ‎संयुक्त प्रहरी आयुक्त (पश्चिम) तथा एसआईटी प्रमुख वामसी कृष्णाका अनुसार र्‍याकेटको वास्तविक दायरा अझै खुल्न बाँकी छ । प्रहरीले औषधिको कारोबार, आपूर्ति तथा रकमको लेनदेन पत्ता लगाउन जफत गरिएका बैंक कारोबार विवरण, खरिद–बिक्रीका अभिलेख तथा अन्य कागजात अध्ययन गरिरहेको छ। ‎प्रहरीका अनुसार वीरेश कुमारले करिब पाँच वर्षदेखि उक्त फर्म सञ्चालन गर्दै आएका थिए । अनुसन्धानकर्ताहरूले उनको सम्बन्ध प्रशान्त नाम गरेका व्यक्तिसँग रहेको दाबी गरेका छन् । प्रहरीले प्रशान्तलाई उक्त र्‍याकेटको मुख्य आरोपी तथा सम्भावित जिम्मेवार मानेको छ । प्रशान्त भने हाल फरार छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। हालसम्म घटनामा वीरेश कुमार जैन मात्रै पक्राउ परेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार