ल्होत्से र पुमरी हिमाल आरोहण शुरु

मंगलबार, वैशाख २८, २०७८

काठमाडौँ । सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ । आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएका छ सदस्य आरोही आज साँझ ६ः४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जनाएको छ । ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन् ।  विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताइन् । त्यसैगरी पुमरी (७,१६१ मिटर) हिमालको सफल आरोहण पनि  भएको छ । चार  नेपाली र दुई भारतीयले आज अपराह्न हिमाल आरोहण गरेको विभागले जनाएको छ । चालु याममा पुमरी आरोहणमा नौ आरोहीलाई अनुमति दिइएको छ ।  वसन्त याममा सगरमाथासहितका विभिन्न हिमालको आरोहण जारी  छ । सगरमाथा आरोहण यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी  कामीरिता शेर्पा नेतृत्वको १२ जनाको शेर्पा आरोही समूहले सगरमाथाको चुचुरामा डोरी टाँग्ने  कार्यसँगै व्यावसायिक आरोहण शुरु भएको हो । संस्कृति मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सगरमाथाका मात्रै सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोही छन् ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार