वैशाखमा विपद्का घटनामा परी २६ जनाको मृत्यु, साढे ३१ करोडभन्दा बढीको आर्थिक क्षति 

मंगलबार, जेठ ३, २०७९

काठमाडौं, ३ जेठ । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।  वैशाख महिनामा ४०७ वटा विपद्का घटना रेकर्ड भएको केन्द्रले जनाएको छ । ती घटनामा २६ जनाको मृत्यु र ८९ जना घाइते भएका थिए । 

विपद्का घटनाका कारण पछिल्लो एक महिनामा देशभर ५४५ परिवार प्रभावित भएका छन् । विपद्का घटनाले १९९ घरमा आंशिक र १८६ घरमा पूर्ण क्षति गरेको केन्द्रले जनाएको छ ।  विपद्का घटनामध्ये आगलागीमा परी १३, चट्याङ लागेर ७, हावाहुरीका कारण २, जनावरको आक्रमणबाट २, पहिरो परी १ र सर्पको टोकाइबाट १ जनाको मृत्यु भएको छ ।  विपद्का घटनाबाट वैशाख महिनामा मात्र ३१ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको केन्द्रले बताएको छ । सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले ३० करोड रुपैयाँभन्दा बढीको गरेको छ । 

विपद्का घटनाले नेपालमा वर्षेनी सयौंको ज्यान लिने गरेको छ भने करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति गर्ने गरेको छ । केन्द्रका अनुसार गत वर्ष २०७८ सालमा विपद्का ३ हजार ९१५ घटनामा ५०८ जनाले ज्यान गुमाएका थिए भने ७७ जना वेपत्ता रहेका छन् ।  गतवर्ष विपद्का घटनामा परी १ हजार ७८३ जना घाइते भएका थिए । विपद्का घटनाले २०७८ सालमा २ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार