सेवा समाजले ईश्वरपुरमा १३ वटा डिप बोरिङ गाडयो

बिहीबार, वैशाख १३, २०८१

सर्लाही । बागमती सेवा समाज नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिकामा १३ वटा डिप बोरिङ गाडेर कृषक समूहलाई हस्तान्तरण गरेको छ । संस्थाले उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिका वडा नं। १, ३ र ९ मा १३ वडा डिप बोरिङ गाडिदिएको हो । ती डिप बोरिङ हिजो ईश्वरपुर नगरपालिका ३ स्थित तिनघरिया गाउँमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिको उपस्थितिमा कृषक समूहलाई हस्तान्तरण गरिएको उत्थानशील समुदायको निर्माण परियोजनाका संयोजक रजनिस कुमार सिंहले जानकारी दिए ।उनका अनुसार ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, ईश्वरपुर १, ३ र ९ का वडाध्यक्ष क्रमशः धर्मेन्द्र राय यादव, विश्वनाथ साह मलाह र नन्दलाल चौधरीको उपस्थितिमा कृषक समूहलाई डिप बोरिङ हस्तान्तरण गरिएको छ । एउटा डिप बोरिङबाट करिव चार बिघा जग्गामा सिँचाई सुविधा पुग्ने बताइएको छ । बागमती सेवा समाज नेपालले एउटा डिप बोरिङ निर्माण गर्न ९२ हजार रुपियाँ खर्च गरेको छ । डिप बोरिङबाट सिँचाई सुविधा पाएपछि स्थानीय कृषकलाई तरकारी खेती तथा अन्य बालीनालीका लागि पानी पटाउन सहज भएको स्थानीय पत्रकार मुकेश कुमार झाले बताएका छन । उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत जीविकोपार्जन, विपद् व्यवस्थापन र खानेपानीको क्षेत्रमा काम गरिरहेको परियोजना संयोजक सिंहले बताए । डिप बोरिङ हस्तान्तरण कार्यक्रममा नगरप्रमुख र वडाध्यक्षहरुले यो परियोजना अन्य वडामा पनि विस्तार गरी कृषकका लागि यस प्रकारको सहयोग गरिदिन आग्रह गरेका छन ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार