विवाह पञ्चमीको पाँचौँ दिन मटकोर सकियो, श्रद्धालुहरूको घुइँचो

मंगलबार, मंसिर २१, २०७८

जनकपुर, २१ मङ्सिर  । धार्मिक र सांस्कृतिक आस्थासँग जोडिएको प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको पाचौँ दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधि मनाइएको छ । जनकपुरधामस्थित जानकी मन्दिरबाट दिउँसो राम र सीताको प्रतीक बालकसहितको झाँकी नगर परिक्रममा गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक गङ्गासागरमा पुगेर दिउँसो मिथिलाको परम्पराअनुसार राम र जानकीको मटकोर गरिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । 
मटकोरमा प्रसादका रूपमा भिजाइएको चना, चामल र खाने तेल वितरण हेर्न जाने श्रद्धालुलाई वितरण गरिएको छ । विवाहको शुद्धीकरणका लागि मटकोर गर्ने धार्मिक परम्परा रहेको छ । आज मटकोटर सकिएपछि भोलि बुधबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर र विवाहको कार्य गरिने महन्थ वैष्णवले बताए । 
सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको पहिलो शुक्रबार नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन हिजो (सोमबार) तिल्कोत्सव सम्पन्न भइसकेको छ ।भोलि विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुने छ । त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
राजा जनककी छोरी सीता र भगवान् रामसँग भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् ।त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको मानिन्छ । 
रामायणमा उल्लिखितअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको मान्यता रहिआएको छ । सीतालाई छोरी बहिनीका रूपमा मान्ने मिथिलावासी, महोत्सवमा देवीदेवताको शरीरको सहभागिता नभए पनि अदृश्य रूपमा उपस्थित हुने जनविश्वास छ ।
यसैबीच विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ । जानकी मन्दिरमा पूजापाठ र रामसीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मुलुक भारतबाट श्रद्धालुहरू आएका छन् । अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण विवाहपञ्चमी महोत्सव नभएका कारण यस वर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालुहरूले दर्शन गर्ने अनुमान गरिएको छ । 
विवाहपञ्चमीका अवसरमा हुने भीडभाडलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरूमा तीन दिन बिदा दिएको छ । प्रदेश २ सरकारले पनि भोलि बुधबार एक दिनका लागि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमीका अवसरमा हुने भीडभाडमा आपराधिक घटनाहरू हुन नदिन र शान्तिसुरक्षा कायम राख्न जनकपुर नगरक्षेत्रभित्र एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार