बिहे गरिन् नोबेल पुरस्कार विजेता मलालाले

बुधबार, कात्तिक २४, २०७८

लण्डन २४ कात्तिक । नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गरेकी हुन् । उनले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिएकी छन् ।  
तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी बेलायतमा बस्दै आएकोले उनको बैवाहिक कार्यक्रम पनि बेलायतमै भएको हो । सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सवैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छन् ।  
“मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् । 
इस्लामिक परम्पराअनुसार बिवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उनले अहिले निकाह गरेकी हुन् । यसको कानुनी हैसियत भने रहदैन । महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए । 
पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घाइते भएका थिए । त्यसपछि उनको चर्चा विश्वव्यापी भएको थियो । १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाएकी उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरु मध्ये सबैभन्दा कान्छी हुन् । उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छन् । विश्वभरी मानवअधिकारकर्मीको पहिचान बनाएकी छन् ।–रासस/एपी
 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार