नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ । नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ । बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं. पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो ।

सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय लोमान्थाङ र चीनको लिजी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संयुक्त गस्ती गरेको थियो ।

ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जानकारी दिएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे छलफल भएको महावाणिज्य दूतावासले जनाएको छ ।  दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति भएको छ । 

बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए ।  बुधबार नै नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेङ्कीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा आपसी हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको महावाणिज्य दुतावासले जनाएको छ । सहायता परियोजनाको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा आगामी महिना आयोजना गरिने छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार