फेसबुकद्वारा आफ्नो कम्पनीको नाम परिवर्तन 

शनिबार, कात्तिक १३, २०७८

सान फ्रान्सीस्को । चर्चित सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था परिवर्तन भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाइएको घोषणा गरेका छन् ।  कम्पनीले सामाजिक सञ्जालभन्दा बढी ‘भर्चुअल रियालिटी’जस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहेकाले त्यहीअनुसारको नयाँ नाम राख्नु परेको उनले बताए ।  “नयाँ राखिएको नामले कम्पनीको कार्यक्षेत्र विस्तारमा सजिलो हुने विश्वास लिएका छौँ,” प्रमुख कार्यकारी अधिकृत जुकरबर्गले भने ।  अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको उनले स्पष्ट पारे ।  यसअघि कम्पनीको नाम पनि फेसबुक नै थियो । फेसबुक कम्पनीमार्फत् फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्स एप सञ्चालित थियो ।   कम्पनीले बिहीबार नै अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।
फेसबुकका एकजना पूर्वकर्मचारीले कागजातहरू सार्वजनिक गरिदिएपछि फेसबुकबारे नकारात्मक धारणा बनिरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो । यसअघि सन् २०१५ मा यस्तै अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।
नयाँ नामका कारणले भविष्यमा यस कम्पनीका प्रयोगकर्ताहरूले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नुपर्ने बाध्यता हट्ने उहाँको भनाइ रहेको छ ।– रासस/सिन्ह्वा   

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार