आपराधिक घटना निरुत्साहित गर्न कपिलवस्तु प्रहरीको विशेष योजना

बिहीबार, असोज २८, २०७८

कपिलवस्तु । दसैँको रमझमसँगै जिल्लामा पटक पटक हिंसात्मक र आपराधिक घटना हुने गरेका छन् । विशेष गरी सीमावर्ती क्षेत्रमा दुर्गा मूर्ति विसर्जनको समय हुने साम्प्रदायिक घटनाले कपिलवस्तु तनावग्रस्त हुने गरेको छ । तर यस वर्ष यस्ता घटना निरुत्साहित गराउन जिल्ला प्रहरी कार्यालयले फरक शैली अपनाउने भएको छ । चाडपर्वको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै प्रहरीले आपराधिक घटना हुन नदिने योजना बनाएको छ । जिल्लामा साम्प्रदायिक हिंसाको जोखिम रहेको कृष्ण नगर, पकडी लगायतका स्थानमा सादा पोसाकका प्रहरीले निगरानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए  । प्रहरीले पुराना आपराधिक घटनामा संलग्न रहेका व्यक्तिको निगरानी बढाएको छ । दुर्गा मूर्ति विसर्जनका क्रममा पटक पटक विवाद हुने गरेको क्षेत्रमा सिसिटिभी क्यामरा थप गरी निगरानी बढाउन थालिएको छ । पुराना घटनाको अध्ययन गरी मुख्य संवेदनशील मानिएका क्षेत्र अब डिजिटल निगरानीमा रहने भएका छन् । कृष्णनगरका थप ५ स्थान र मर्यादपुरका २ स्थानमा सिसिटिभी क्यामरा जोडिएको एसपी कार्कीले बताए । यसैगरी ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने खालका डिजेसमेत प्रयोग गर्न निषेध गरिएको छ ।  जिल्लाका चाडपर्वको समयमा सवारी दुर्घटना हुने, कुटपिट हुने, साम्प्रदायिक हिंसा हुने, सीमा क्षेत्रमा लुटपाटजस्ता घटना बारम्बार हुने गरेका छन् ।प्रहरीले योजनाका साथ सक्रियता बढाएर र प्रविधिको प्रयोग गरी त्यस्ता घटना हुन नदिने प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार