दशैंको सातौं दिन आज फूलपाती

  हनुमानढोका दरबारको दशैँघरमा अपराह्न फूलपाती भित्र्याइने 
मंगलबार, असोज २६, २०७८

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । 
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए । 
“केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उनले भने । 
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिए । 
हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । 
यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । 
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरूको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरूमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँमा राष्ट्रपति सरिक हुने
नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । 
सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ ।
कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।–रासस 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार