सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । स्वावलम्बन जीवन पद्धति केन्द्रले अपाङ्गता भएकाहरुको लागि स्वाबलम्वन जीवनयापन कार्यक्रम शुरु गरेको छ । १० दिन सम्म हुने उक्त कार्यक्रममा अहिले ललितपुर महानगर वडा नं. २२ का तीन जना अपाङ्गता भएका व्यक्ति सहभागी छन् । केन्द्रले यो कार्यक्रम ललितपुर महानगरसँग सहकार्य गरेर शुरु गरेको हो । यसअघि पनि आयोजना गर्ने गरिएको यो कार्यक्रमबाट ४ सय जना लाभान्वित भईसकेको केन्द्रका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरु १० दिनसम्म आवासीय रुपमा बस्छन् । उक्त समय अवधिमा प्रशिक्षकहरुले अपाङ्गता भएका व्यक्तिमा आत्मबल र आत्मविश्वास बढाउने काम गर्छन् । श्रेष्ठले भने, ‘ निर्णय गर्ने क्षमता विकास गराउने मुख्य उद्देश्य हो ।’ अपाङ्गता भनेको के हो ? अपाङ्गता कसरी हुन्छ ? आत्मबल, आत्मविश्वास के हो भन्ने विषयमा छलफल गर्ने श्रेष्ठले बताए । यो कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित अधिकारको बारेमा पनि बुझाइन्छ । संघ, प्रदेश र स्थानीय सरकारको कामका बारेमा बुझाइन्छ । ‘यो कार्यक्रम सकेपछि धेरैले वडा कार्यालयमा गएर सोधखोज गर्ने, योजना र कार्यक्रममा आफ्नो विषय परे नपरेको चासो व्यक्त गर्ने गर्नु भएको यस अघिका कार्यक्रमबाट अनुभव प्राप्त भएको छ’, केन्द्रका कोषाध्यक्ष उदय बहादुर लिम्बुले जानकारी दिए । अपाङ्गता भएक व्यक्तिलाई दयामुखी अवधारणाबाट नभई अधिकारमुखी अवधारणाबाट अघि बढ्न यो कार्यक्रमले सहयोग गर्ने संस्थापक अध्यक्ष श्रेष्ठले बताए । अपाङ्गता भएका व्यक्ति अरुमा मात्रै निर्भर हुनुपर्छ, हुन्छन् आमधारणालाई यसले चिर्ने श्रेष्ठको भनाई थियो । यस कार्यक्रममा सिद्धीबहादुर महर्जन, सरोज शाक्य र तशिन शाक्य सहभागी छन् । २०७२ सालको भूकम्पले सिद्धीबहादुर महर्जनको एक हर लुलो भयो । भूकम्पबाट भाग्न खोज्दा लडे, त्यसपछि हिड्न सकेनन् । लगातारको उपचारले उनी अहिले थोरै हिड्न सक्ने भएका छन् । ‘सिद्धीबहादुरमा बहुअपाड्गता छ ’ श्रेष्ठले भने । सरोजको हातगोडा लुला छन् । उनी भर्याङ उक्लन पनि गाह्रो छ । तशिनको गोडा बाङ्गो छ । उनीपनि हिड्न सक्दैनन् राम्रोसँग । उनीहरु सबैलाई स्थानीय सरकार, ललितपुर महानगरपालिकाले उनीहरुको अपाङ्गताको आधारमा निलो र रातो कार्ड उपलब्ध गराएको छ । स्वाबलम्बन जीवनयापन कार्यक्रम अमेरिका जापान हुँदै नेपालमा सुरु भएको हो । २०६२ सालदेखि स्वाबलम्बन जीवन पद्धति केन्द्रले यो कार्यक्रम नेपालमा सुरु गरेको हो ।