इस्कोन मन्दिर

काठमाडौंभित्रै शान्ति र अध्यात्म खोज्नेहरूको नयाँ गन्तव्य

बिहीबार, जेठ २८, २०८३

काठमाडौं । काठमाडौंको कोलाहल र व्यस्त दिनचर्याबाट केही समय टाढा रहेर शान्ति खोज्नेहरूका लागि बुढानीलकण्ठस्थित ‘हरे कृष्ण धाम’ (इस्कोन मन्दिर) एक प्रमुख गन्तव्य बन्दै गएको छ । शिवपुरी पहाडको काखमा अवस्थित यो धाम पछिल्लो समय धार्मिक तथा आध्यात्मिक पर्यटनको एक उत्कृष्ट केन्द्रका रूपमा विकास भइरहेको छ । प्राकृतिक सुन्दरता र आध्यात्मिक वातावरणको अनुपम सङ्गम रहेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उपस्थिति दिनप्रतिदिन बढ्दो छ । मन्दिर परिसरमा प्रवेश गर्ने बित्तिकै देखिने आकर्षक बगैँचा र कालिया मर्दनको भव्य मूर्तिले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्दछ। मन्दिरको मुख्य हलमा स्थापना गरिएका श्री श्री राधा गोविन्द हरि, श्री श्री गौर निताई, र श्री जगन्नाथ, बलदेव तथा सुभद्राका आकर्षक विग्रहहरूले भक्तजन तथा पर्यटकलाई मन्त्रमुग्ध पार्छन् ।  यहाँको शान्त र स्वच्छ वातावरणले पर्यटकहरूलाई मानसिक तनावबाट मुक्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने यहाँ आउने दर्शनार्थीहरू बताउँछन् ।  यस धाममा दैनिक रूपमा हुने मंगल आरती, सुमधुर भजन–कीर्तन, र श्रीमद्भागवतम् प्रवचनहरूले यहाँको वातावरणलाई सधैँ गुञ्जायमान र पवित्र बनाइराख्छ । यसका साथै, मन्दिर परिसरमा उपलब्ध हुने शुद्ध शाकाहारी तथा सात्विक कृष्ण प्रसाद यहाँ आउने पर्यटकहरूको विशेष रोजाइमा पर्ने गरेको छ । खानालाई केवल पेट भर्ने माध्यम मात्र नभई आध्यात्मिक ऊर्जाको रूपमा ग्रहण गरिने हुनाले पनि यसको लोकप्रियता बढेको हो । मन्दिर व्यवस्थापन समितिका अनुसार हरे कृष्ण धाममा दैनिक रूपमा सञ्चालन हुने मंगल आरती, सन्ध्या आरती, भजन–कीर्तन तथा श्रीमद्भागवत प्रवचन यहाँको प्रमुख आकर्षण हुन्। बिहान साढे ४ बजे सुरु हुने मंगल आरतीसँगै धार्मिक गतिविधि प्रारम्भ हुन्छ भने बिहान साढे ५ बजे श्रीमद्भागवत कक्षा सञ्चालन गरिन्छ। यस्तै, साँझ ६ः३० बजे सन्ध्या आरती र ७ः३० बजे शयन आरती हुने गर्दछ । बुढानीलकण्ठ क्षेत्र आफैँमा ऐतिहासिक र धार्मिक रूपमा महत्त्वपूर्ण स्थल हो। त्यसमाथि इस्कोन मन्दिरको व्यवस्थित र शान्त वातावरणले काठमाडौं उपत्यकाभित्र ‘एकदिने धार्मिक पर्यटन’ लाई ठुलो टेवा पुर्याएको छ। विशेषगरी सप्ताहन्त (शनिबार) र बिदाका दिनहरूमा यहाँ पारिवारिक भ्रमणमा आउनेहरूको संख्या उल्लेखनीय रहने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार