अक्सिजन प्लान्ट बनाउन मनमोहन अस्पताललाई काठमाडौं महानगरको १५ लाख अनुदान

शनिबार, असोज २३, २०७८

काठमाडौं : काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ । महानगरले उपलब्ध गराएको रकमको प्रचलित व्यवस्था बम्मोजिम लेखापरीक्षण गराएर अन्तिम प्रतिवेदन अस्पतालले महानगरलाई बुझाउनुपर्नेछ ।  

मेयर शाक्यले उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् भनेर महानगर बाहिरका अस्पताललाई सहयोग गर्ने महानगरको नीति रहेको बताए । ‘बिरामीले उपचार आफ्नै ठाउँमा पाउन सक्नुहोस् । यसले गर्दा बिरामीका परिवारको आर्थिक बोझ कम हुन्छ’, शाक्यले भने, ‘यसका लागि काठमाडौं महानगरले जिल्ला बाहिरको स्वास्थ्य सेवा सुधारमा सहयोग गरिरहेको छ ।’

दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि एक करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन एक करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको पनि बताए ।

त्यस क्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौंसहित ललितपुर र मकवानपुरका विरामीलाई उपचारमा सहज हुने बताए । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार