संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल  

बुधबार, असार ३, २०८३

ललितपुर । ललितपुर महानगरले आर्थिक वर्ष २०८३-२०८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा ललितपुरका संघीय र प्रदेश सांसदसँग छलफल गरेको छ । यस अघि महानगरले सरोकारवाला र सल्लाहकारहरुसँग बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषय बारे सुझाव लिन छलफल आयोजना गरेको थियो । 
छलफल कार्यक्रममा संघीय सांसद जगदीश खरेलले आउँदो नीति तथा कार्यक्रमले १० वर्षको लागि ’‘मास्टर प्लान’ तयार गर्नुपर्ने बताए । महानगरले महानगरवासीलाई  रोजगारसँग जोड्नुपर्ने प्रष्ट पारे । उनले भने,  ‘निर्वाचनका बेला मैले एक मिनेटमा लगभग दुई जनालाई भेटेँ होला, त्यो बेला उहाँहरु सबैको कुरा रोजगारी भएन भन्ने थियो, आर्थिक आत्मनिर्भरतासँग जोडिएको थियो । ’
संघीय सांसद प्रभा कार्कीले महानगरमा पार्किङको समस्या धेरै भएको बताउँदै अबको नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्नुपर्ने बताइन् । सार्वजनिक जग्गा संरक्षण अर्को महत्वपूर्ण विषय भएको बताउँदै सार्वजनिक जग्गा संरक्षणका लागि महानगरको भूमिका महत्वपूर्ण भएको प्रष्ट पारिन् । 
ललितपुरका प्रदेश सांसद तथा पूर्वमन्त्री रामकृष्ण चित्रकारले अबको नीति तथा कार्यक्रमले मूर्त सँगसँगै अमूर्त सम्पदाको संरक्षणलाई थप प्राथमिकता दिनुपर्ने धारणा राखे । अमूर्त सम्पदा मानव जीवनसँग प्रत्यक्ष जोडिएको हुनाले ती सम्पदाको संरक्षण अझै महत्वपूर्ण बताए । मूर्त र अर्मूत सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध भएको बताउँदै अमूर्त सम्पदाको संरक्षणले मूर्त सम्पदा समेत संरक्षण गर्न अप्रत्यक्ष रुपमा सहयोग पुग्ने उनको भनाई थियो । उनले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको रुचि जगाउन महानगरले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । 
प्रदेश सांसद प्रेमभक्त महर्जन महानगर बन्ने क्रममा जोडिएका चक्रपथ बाहिरका वडाहरुको विकासका लागि महानगरले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमले विशेष ढंगले सम्बोधन गनुपर्ने बताए । उनले चक्रपथ बाहिरका वडामा गर्नपर्ने काम धेरै भएको बताउँदै कृषिलाई प्राथमिकतामा राख्नुपर्ने आंैल्याए । कार्यविनायक मन्दिर भूक्षयका कारण जोखिममा पर्दै गएको बताउँदै यसको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । 
महानगर प्रमुख चिरीबाबु महर्जनले संघीय र प्रदेश सांसदहरुबाट आएको सुझावलाई आउँदो बजेट,नीति तथा कार्यक्रमले सम्बोधन गर्ने बताए । हरियाली संरक्षण, वातावरण संरक्षणमा महानगरले गरेको कामको व्याख्या गर्दै सम्पदा संरक्षण र हरियाली प्रबर्धनमा उल्लेखनीय काम गरेको व्याख्या गरे । उपप्रमुख मञ्जली शाक्य बज्राचार्य ले तीनै वटा सरकारको मुख्य धेय नागरिकलाई सेवा गर्नु भएको बताउँदै संविधानको मर्मं अनुसार सहकार्य र सहअस्तित्वको अवधारणालाई आत्मसात गरेर अघि बढ्नु पर्ने बताए ।  रोजगारी सिर्जनाका लागि महानगरले धेरै क्षेत्रमा तालिम आयोजना गरेको बताउँदै तालिम लिएर जनशक्ति बजारमा रहेको बताइन् । ललितपुर महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले महानगरले सम्पदा संरक्षणसँगसँगै हरियाली प्रबर्धन र स्वास्थ्य क्षेत्रमा महानगरले गरेका कामलाई अन्य पालिकाले समेत अनुसरण गरेका स्पष्ट पारे । 
कार्यक्रममा विषयगत समितिका संयोजक र शाखा,महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार